सुदूरपश्चिममा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बन्दै, आजै शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्रीबाट कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

प्रमुख प्रमुखले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका छन् । तोकिएको समयभित्रै मुख्यमन्त्रीमा एमालेको समर्थनसहित दाबी पेस गर्ने तयारी खगराज भट्टले गरेका छन् ।

भट्टले दाबी पेस गरेपछि प्रदेश प्रमुखले आजै उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । नेकपाका एक सांसदकाअनुसार बिहान ११ बजे मुख्यमन्त्री नियुक्त भएपछि आजै दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।

मुख्यमन्त्री बनेपछि भट्टले शुक्रबार नै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने सम्भावना पनि रहेको नेताहरू बताउँछन् ।

नेकपा र एमालेबीच सुदूरपश्चिममा यसअघि नै मन्त्रालयत भागबन्डा भइसकेको छ । नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन वटा मन्त्रालय पाउनेछ ।

एमालेले आर्थिक मामिला, सामाजिक विकास र वन वा कृषि मध्ये एउटा मन्त्रालयको नेतृत्व गर्ने स्रोतले जनाएको छ । ३१ असारमा एमालेले बजेटमा असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

शाहले बिहीबार प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । लगत्तै प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई live24nepali@gmail.com मा पठाउनु होला । धन्यवाद ।