काभ्रे - काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाले हालैको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका बाढीपीडितका लागि २५ लाख ३३ हजार ३३३ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले विज्ञप्ति जारी गर्दै बाढीका कारण पुगेको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। विज्ञप्तिमा मृतकहरूप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विपद्को यस कठिन घडीमा हातेमालो गर्दै गाउँपालिकाका जनप्रतिनिधिहरूको १० दिनको सेवासुविधा र सम्पूर्ण कर्मचारी तथा शिक्षकहरूको पारिश्रमिकबाट रकम कट्टा गरी राहत संकलन गरिएको अध्यक्ष तामाङले बताएका छन्। संकलित उक्त सहयोग रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिने भएको छ।
जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूको संयुक्त योगदानमार्फत विपद्मा परेका नागरिकलाई तत्काल राहत पुर्याउने उद्देश्यले यो कदम चालिएको गाउँपालिकाले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!