काठमाडौं - दक्षिणढोका उत्थान युवा क्लबको आयोजनामा बडादसैँ २०८३ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा चङ्गा चेट कार्यक्रम सम्पन्न भएको छ। गोकर्र्णेश्वर नगरपालिका–७, काठमाडौंमा आयोजित उक्त कार्यक्रम २०८३ साल असोज ३१ गते सम्पन्न भएको हो। क्लबले विगत एक दशकदेखि निरन्तर रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विजयादशमी पर्वको मौलिकता, धार्मिक महत्त्व तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले क्लबले हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको हो। पछिल्लो समय नेपाली समाजमा मौलिक परम्परा तथा सांस्कृतिक मूल्य–मान्यताहरू क्रमशः ओझेलमा पर्दै गएको सन्दर्भमा हिन्दु नेपालीहरूको महान् पर्व विजयादशमीको महत्त्व नयाँ पुस्तामाझ परिचित गराउनुका साथै यसको संरक्षण र संवर्द्धन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको क्लबले जनाएको छ।
कार्यक्रमले नेपालीहरूको मौलिक सांस्कृतिक परम्पराका रूपमा रहेको चङ्गा उडाउने प्रचलनलाई निरन्तरता दिनुका साथै आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास क्लबले लिएको छ। चाडपर्वका अवसरमा एकापसमा शुभकामना साटासाट गर्दै खुसी र उमङ्ग बाँड्ने वातावरण सिर्जना गर्नु पनि कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष रहेको छ।
दक्षिणढोका उत्थान युवा क्लबका अध्यक्ष राजेश जिम्बा लामाका अनुसार धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई जीवन्त राख्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्छन्। नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्दै यसको संरक्षण तथा प्रवर्द्धन गर्न क्लबले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य राखेको छ।
विगत एक दशकदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमले स्थानीय समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउनुका साथै नेपाली मौलिक संस्कृति र परम्पराको जगेर्नामा योगदान पुर्याउँदै आएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!