रास्वपा समर्थकलाई सचिनको कटाक्ष : पालेको सर्पले आफैँलाई पनि डस्न सक्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले राजनीतिक विचार नमिलेको भन्दै गरिने दुर्व्यवहारको विरोध गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै तिमिल्सिनाले केही समयअघि माइतीघरमा आयोजित कार्यक्रममा सरकारनिकट एक व्यक्ति प्रश्न गर्ने बहानामा प्रवेश गरी आफूमाथि दुर्व्यवहार गरेको घटना सम्झिएका छन्। उनका अनुसार उक्त घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट केही समर्थकहरूले ‘विपक्षीलाई परेको’ भन्दै खुसी व्यक्त गरेका थिए।

त्यसैगरी, मधेशमा शिक्षामन्त्रीमाथि भएको दुर्व्यवहारको घटनालाई उल्लेख गर्दै उनले राजनीतिक प्रतिपक्षी भए पनि आफूहरू यस्तो व्यवहारलाई स्वीकार गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा प्रश्न उठाउने, बहस गर्ने र संवाद गर्ने अधिकार सबैलाई हुन्छ। तर राजनीतिक असहमतिको नाममा व्यक्तिमाथि दुर्व्यवहार गर्नु स्वीकार्य हुन नसक्ने उनको धारणा छ।

तिमिल्सिनाले विशेषगरी रास्वपा समर्थकहरूलाई राजनीतिक संस्कारबारे सचेत हुन आग्रह गरेका छन्। आफूले प्रोत्साहन गरेको गलत व्यवहार कुनै दिन आफ्नै पक्षतर्फ पनि फर्किन सक्ने संकेत गर्दै उनले असहमतिको राजनीति मर्यादित र संवादमुखी हुनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।


प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्