काभ्रे - काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले रसुवा लगायतका क्षेत्रमा गएको विनाशकारी बाढी तथा पहिरोबाट उत्पन्न संकटमा राहत तथा उद्धार कार्यका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी हस्तान्तरण गर्न लागेको हो।
गाउँपालिकाका उपाध्यक्ष जितेन्द्र मान तामाङका अनुसार गाउँ कार्यपालिकाको बैठकले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ३० लाख रुपैयाँ उपलब्ध गराउने औपचारिक निर्णय गरेको हो।
बाढी तथा पहिरोका कारण प्रभावित परिवारको तत्काल उद्धार, राहत वितरण र पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै गाउँपालिकाले आफ्नो तर्फबाट उक्त रकम प्रदान गर्ने निर्णय गरेको उपाध्यक्ष तामाङले बताए।
विपत्तिको यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले गाउँ कार्यपालिकाको निर्णयअनुसार ३० लाख रुपैयाँ सहयोग गर्न लागिएको गाउँपालिकाले जनाएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि उपयोग हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाले विपद्को समयमा सहयोग र सहकार्य नै मानवीय दायित्व भएको उल्लेख गर्दै प्रभावित नागरिकको उद्धार तथा राहतमा सबै पक्षलाई सहयोगका लागि आग्रह गरेको छ। साथै, विपत्तिमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोगका लागि गाउँपालिकाले आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ।
यस पुण्य कार्यमा उदार मनका साथ सहयोग तथा सहकार्य गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूप्रति गाउँपालिकाका उपाध्यक्ष जितेन्द्र मान तामाङले हृदयदेखि नै धन्यवाद तथा आभार व्यक्त गरेका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!