काभ्रे - रसुवामा गएको बिनाशकारी बाढीका कारण उत्पन्न सङ्कटमा राहत तथा उद्धार कार्यका लागि काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी हस्तान्तरण गर्न लागेको हो।
नगर प्रमुख रामशरण भण्डारीका अनुसार नगर कार्यपालिकाको बैठकले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले यो रकम उपलब्ध गराउने औपचारिक निर्णय गरेको हो। विगतमा आफैंले प्राकृतिक विपद्को सामना गरेको अनुभव सम्झिँदै छिमेकी जिल्लाका पीडित नागरिकको दुःखमा मलम लगाउन यो सहयोग निर्णय गरिएको नगर प्रमुख भण्डारीले जानकारी दिए।
कोषमा जमा गरिने ३० लाख रुपैयाँ नगरपालिकाका जनप्रतिनिधिहरू र कर्मचारीहरूबाट प्राप्त सेवा-सुविधा एवं पारिश्रमिकबाट स्वेच्छिक रूपमा संकलन गरिएको हो। उक्त संकलित रकममा नगरपालिकाको तर्फबाट थप रकम समावेश गरी कुल ३० लाख रुपैयाँको राहत प्याकेज तयार पारिएको नगर प्रमुख भण्डारीको भनाइ छ।
प्राकृतिक विपत्तिबाट उत्पन्न यस संकटपूर्ण घडीमा सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै नगरपालिकाले प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत वितरण कार्यलाई थप तीव्र बनाउन संघीय सरकारलाई अनुरोधसमेत गरेको छ। साथै, नगरपालिकाले स्थानीयस्तरमा पनि पूर्वतयारी र सतर्कता अपनाउन नगरवासीमा आह्वान गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!