पाँचखालका मेयरले गरे बाढीपीडितलाई व्यक्तिगत २० लाख सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काभ्रे - काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले बाढीपहिरो पीडितहरूको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। अविरल वर्षाका कारण पुगेको ठूलो क्षति र प्रभावित नागरिकको तत्काल पुनर्स्थापनाका लागि उक्त रकम कोषमा जम्मा गरिएको हो।

स्थानीय तह निर्वाचनका क्रममा आफूले दुई कार्यकाल अर्थात् १० वर्षसम्म प्राप्त गर्ने सम्पूर्ण पारिश्रमिक तथा सरकारी सुविधा जनहितका काममा मात्र लगाउने सार्वजनिक प्रतिज्ञा गरेका थिए। सोही प्रतिबद्धतालाई निरन्तरता दिँदै उनले आफ्नो पारिश्रमिक बापतको रकम प्राकृतिक विपद्को यस कठिन घडीमा राहतस्वरूप उपलब्ध गराएको बताएका छन्।

नगरप्रमुख खरेलले सामाजिक सञ्जालमार्फत आफ्नो यो सहयोगबारे जानकारी गराउँदै विपद्को बेला एक-अर्कालाई सहयोग गर्नु सबैको मानवीय कर्तव्य भएको उल्लेख गरेका छन्। उनले जनप्रतिनिधिको रूपमा नागरिकको सेवा र सुख-दुःखमा सधैँ साथमा रहने प्रतिबद्धता समेत दोहोर्‍याएका छन्।

मेयर खरेलले यो सहयोगलाई कुनै ठुलो दान नभई जनताले दिएको जिम्मेवारीको सानो अंश जनतामै फर्काउने प्रयास मात्र भएको बताएका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।


प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्