काठमाडौं - तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने १ हजार ९४ जना राष्ट्रसेवकले जरिवाना तिरेर सम्पत्ति विवरण बुझाएका छन्।
केन्द्रको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८०/८१ मा समयमा सम्पत्ति विवरण नबुझाउने उनीहरूलाई जनही ५ हजार रुपैयाँका दरले जरिवाना गरिएको हो। जरिवाना बुझाएपछि उनीहरूले सम्पत्ति विवरण पेस गरेका छन्।
भ्रष्टाचार निवारण ऐनअनुसार तोकिएको म्यादभित्र सम्बन्धित निकायमा सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेका व्यक्तिलाई जरिवाना गर्न सकिने व्यवस्था छ। साथै, विवरण नबुझाउने व्यक्तिको नाममा तथा निजको परिवारका सदस्यको नाममा गैरकानुनी सम्पत्ति रहेको अनुमान गरी सम्बन्धित निकाय वा अधिकारीले अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था पनि रहेको छ।
समयमै सम्पत्ति विवरण पेस गर्नु सार्वजनिक पद धारण गरेका व्यक्तिको कानुनी दायित्व भए पनि पछिल्लो आर्थिक वर्षमा पनि ठुलो संख्यामा राष्ट्रसेवकले तोकिएको समयसीमा पालना नगरेका हुन्।