काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्धनका लागि सरकारले पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौंको बुढानीलकण्ठस्थित 'सिप्रदी यात्री'को कारखानामा तयार पारिएको नेपालकै पहिलो विद्युतीय स्कुटर यात्री पी-२ (Yatri P-2) को निर्माण प्रक्रिया अवलोकन गर्दै उनले यस्तो आश्वासन दिएका हुन् ।
कारखानाको निरीक्षणका क्रममा अर्थमन्त्री वाग्लेले नेपाली युवा इन्जिनियरहरूको प्रयासलाई ऐतिहासिक कदमको संज्ञा दिए । “तपाईंहरूले गरेको मेहनत सह्रानीय छ । यात्री पी-२ विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,” अर्थमन्त्री वाग्लेले उत्साह भर्दै भने, “गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनु होला । अघि बढ्नुहोस्, सरकार तपाईंहरूको साथमा छ ।”
नेपालले आफैँ डिजाइन गरेर दुई पाङ्ग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु गौरवको विषय भएको बताउँदै उनले यसलाई विश्व बजारसम्म फैलाउन सुझाव दिए । एप्पलको उदाहरण दिँदै उनले भने, “एप्पलको डिजाइन क्यालिफोर्नियामा हुन्छ, उत्पादन चीनमा हुन्छ । तपाईंहरूले सकेसम्म नेपालमै उत्पादन गर्नुहोस् । सरकारले के-के सहयोग गर्नुपर्ने हो भन्नुस्, तर विश्व बजारमा फैलन अरू के-के गर्न सकिन्छ त्यसमा पनि सोच्नुहोला ।” उनले नेपाली इन्जिनियर र डिजाइनरहरूको मेहनतको सम्मान गर्दै यो ब्रान्डलाई प्रवासमा रहेका नेपालीहरूले समेत खोजीखोजी चढेको हेर्ने इच्छा व्यक्त गरे ।