काभ्रे - रोशी गाउँपालिकामा मुहान–जलाधार संरक्षण तथा व्यवस्थापनमा खानेपानी तथा सिँचाइका स्रोत संरक्षणका लागि मुहान र जलाधार क्षेत्रको वैज्ञानिक व्यवस्थापन गरिने भएको छ ।
जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जानाले मानव जीवनमा पर्नथालेको असरलाई न्यूनीकरण गर्न हिन्दू कुश हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धिको उद्देश्यले एकीकृत जलवायु अङ्गीकरण समाधान कार्यक्रम ‘इन्टिग्रेटेड क्लाइमेट एडप्टेशन सोलुसन्स फर द हिन्दू कुश हिमालय’ (हाइ–क्यास) परियोजना सञ्चालन गर्न लागिएको हो ।
कार्यक्रम सञ्चालनार्थ रोशी गाउँपालिका, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार तथा विकास केन्द्र (सिप्रेड) बीच आशय–पत्रमा हस्ताक्षर भइसकेको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए ।
उनका अनुसार मुहान–जलाधार संरक्षण तथा व्यवस्थापनमा खानेपानी तथा सिँचाइका स्रोत संरक्षणका लागि मुहान र जलाधार क्षेत्रको वैज्ञानिक व्यवस्थापनसँगै परियोजनाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्न लैङ्गिक उत्तरदायी, समावेशी र प्रकृतिमैत्री अनुकूलनका उपायमार्फत जोखिममा रहेका समुदाय र महिलाहरूको उत्थानको लागिसमेत काम गर्नेछ । यस्तै स्वच्छ र नवीकरणीय ऊर्जाका प्रविधि प्रयोगलाई प्रवर्द्धन गर्दै रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षण र प्रवर्द्धनका काम हुनेछन् । आदिवासी तथा स्थानीय समुदायको सहभागिता, स्थानीय क्षमता अभिवृद्धि र दिगो जीविकोपार्जनमा परियोजनाको योजना छ । रोशीमा २२ प्रतिशत पानीको मुहान तथा जलाधार क्षेत्र सुक्खा रहेको पाइएको सर्वेक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
ग्लोवल अफेयर्स क्यानडाको सहयोगमा सञ्चालित यस बहु–देशीय परियोजना मार्च २०२६ देखि नेपालमा सुरु भएको जनाइएको छ । नेपालमा भने सिप्रेडमार्फत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका र धनकुटाको धनकुटा नगरपालिकामा यस परियोजना थालिएको हो । इसिमोडका महानिर्देशक पेमा ग्याम्चोका अनुसार त्रिपक्षीय समझदारीले परियोजना कार्यान्वयनमा संलग्न निकायबीच सहकार्य र समन्वयलाई संस्थागत एवं औपचारिक बनाउने छ । “नेपालमा जलवायु परिवर्तनको जोखिममा रहेका हिमाली तथा पहाडी क्षेत्रका समुदायलाई उत्थानशील बनाउन स्थानीय सरकारसँगको सहकार्य पनि अपरिहार्य छ”, उनले भने ।
प्रतिक्रिया