काभ्रे - आफैं प्राकृतिक विपत्तिबाट प्रभावित बनेका स्थानीय तहहरूले रसुवामा गएको विनाशकारी बाढीका कारण उत्पन्न महाविपत्तिमा राहत तथा उद्धारका लागि संघीय सरकारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्। काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिकाले कार्यपालिका बैठकबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्ने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष भगवान अधिकारीका अनुसार भदौ १५ गते बसेको कार्यपालिकाको आकस्मिक बैठकले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। कुल ३५ लाख रुपैयाँमध्ये १५ लाख रुपैयाँ गाउँपालिकाको आफ्नै विपद् व्यवस्थापन कोषबाट बेहोरिने छ भने बाँकी २० लाख रुपैयाँ जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूले प्राप्त गर्ने सेवा-सुविधा र पारिश्रमिकबाट कटौती गरी सहयोग गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।
यसैगरी, रसुवामा आएको भिषण बाढीमा परेर बेथान्चोकका ३ जना नागरिक हालसम्म सम्पर्कविहीन रहेका छन्। बेथान्चोक गाउँपालिकाले आफ्ना ती बेपत्ता नागरिकहरूसहित बाढीमा हराइरहेका अन्य सम्भावित सम्पूर्ण व्यक्तिहरूको खोजी कार्य तीव्रताका साथ अघि बढाउन संघीय सरकार र सुरक्षा निकायहरूसँग औपचारिक अनुरोध गर्ने निर्णयसमेत गरेको छ।
विपत्तिका कारण उत्पन्न दुःखद् परिस्थितिलाई ध्यानमा राख्दै गाउँपालिकाले चालु आर्थिक वर्षका लागि स्वीकृत गरिएका हरितालिका तीज लगायतका सम्पूर्ण औपचारिक उत्सव तथा शुभकामना आदानप्रदानका कार्यक्रमहरू रद्द गर्ने निर्णय गरेको छ। आफ्ना नागरिकको खोजतलास र विपद् व्यवस्थापनमा एकीकृत रूपमा लाग्न गाउँपालिकाले सबैमा आग्रह गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!