बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले गरे राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन् । सोमबार बागमती प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने क्रममा मुख्यमन्त्री बानियाँले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मतको प्रक्रिया अघि नबढाई पद त्याग गर्ने निर्णय गरेका हुन् । उनले प्रदेशको राजनीतिक स्थायित्वलाई ध्यानमा राख्दै राजीनामा दिएको बताए । उनले राजनीतिक अस्थिरता कायम राख्न नहुने भन्दै नयाँ सरकारका लागि मार्ग प्रशस्त गरेको बताए ।

उनले विभिन्न आन्दोलन तथा शान्ति प्रक्रिया हुँदैसँगै यात्रा गरेका सहयात्री दलहरूले पार्टी नेतृत्वको निर्णयका कारण साथ छोड्नुपरेको र त्यसले आफूलाई दुःख लागेको बताए। 

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार जोगाउन कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर, मुख्यमन्त्री बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुई सांसद गरी ३८ सांसद मात्र खुलेका थिए। सरकार जोगाउन आवश्यक थप १५ सांसदको समर्थन जुटाउन नसकेपछि उनले राजीनामा घोषणा गरेका हुन्।

गत साउन ६ गते तत्कालीन सत्ता साझेदार दल एमालेले आफ्ना ६ मन्त्रीको राजीनामा गराउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

संविधानअनुसार समर्थन फिर्ता भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यताअनुसार मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने तयारी गरेका थिए। तर, बहुमत सुनिश्चित हुन नसकेपछि उनले प्रदेश सभा बैठकमै राजीनामाको घोषणा गरेका हुन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई live24nepali@gmail.com मा पठाउनु होला । धन्यवाद ।