स्वास्थ्य बीमाको नयाँ आबद्धता र नवीकरण अब अनलाइनबाट हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ - स्वास्थ्य बीमा बोर्डले सर्वसाधारणलाई बीमा सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले नयाँ आबद्धता, नवीकरण तथा बिमितको विवरण अद्यावधिक गर्ने काम अब अनलाइन मार्फत मात्रै हुने भएको  जनाएको छ । बोर्डका अनुसार आजदेखि स्वास्थ्य बीमासम्बन्धी विभिन्न सेवा अनलाइनबाटै लिन सकिनेछ।

राष्ट्रिय परिचयपत्रसँग समेत अन्तरआबद्ध गरिएको यस प्रणालीमार्फत सेवाग्राही स्वयं वा दर्ता सहयोगीले घरबाटै डिजिटल माध्यमबाट बीमा प्रक्रिया पूरा गर्न सक्नेछन्। साथै, बीमा शुल्क भुक्तानीका लागि इसेवा, खल्ती र कनेक्ट आइपिएसको सुविधा उपलब्ध गराइएको छ। राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले म्यानुअल रूपमा डिजिटल विवरण पेस गर्न सक्ने व्यवस्था गरिएको छ। 

​विद्युतीय प्रणालीको कार्यान्वयनसँगै सेवाग्राहीको समय बचत हुनुका साथै सेवा प्रवाहमा पारदर्शिता र तथ्याङ्कको शुद्धतामा अभिवृद्धि हुने अपेक्षा गरिएको छ। पहिले नै स्वास्थ्य बीमा गरिसकेका परिवारले पनि परिवारमूलीको बीमा नम्बर प्रयोग गरी प्रणालीमा जोडिएर आफ्नो विवरण अपडेट तथा नवीकरण गर्न सक्नेछन्।

बोर्डका प्रवक्ता डा. पवन कुमार शाहका अनुसार नेपाल सरकारले अघि सारेको डिजिटल सुशासनको अवधारणालाई साकार पार्दै स्वास्थ्य बीमा कार्यक्रमलाई पूर्ण रूपमा डिजिटल बनाउने प्रक्रियामा यो अनलाइन पोर्टलले योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई live24nepali@gmail.com मा पठाउनु होला । धन्यवाद ।