काठमाडौं - कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, धनकुटाले ठुलो संख्यामा स्वास्थ्यकर्मी तथा प्राविधिक कर्मचारीहरूको माग गरेको छ ।
निर्देशनालयले आज एक सूचना जारी गर्दै रिक्त रहेका १० विभिन्न पदहरूमा सेवा करारमा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।
निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि असार मसान्तसम्म सेवा दिने गरी कर्मचारीहरू भर्ना गर्न लागिएको हो । सबैभन्दा बढी संख्यामा विद्यालय नर्स (सहायक पाँचौँ तह) का लागि ६५ जनाको माग गरिएको छ ।
त्यस्तै, मेडिकल अधिकृत (आठौँ तह) का लागि १३ जना, फिजियोथेरापिस्ट ३ जना, मेडिकल ल्याब टेक्नोलोजिस्ट २ जना र अन्य विभिन्न पदहरूमा १-१ जना कर्मचारी माग गरिएको छ ।
माग गरिएका अन्य पदहरूमा अस्पताल व्यवस्थापक, विद्यालय नर्स संयोजक, मनोसामाजिक परामर्श अधिकृत, सर्भिलेन्स मेडिकल अधिकृत, आइ.टी. अधिकृत र बायोमेडिकल इन्जिनियर रहेका छन् । यीमध्ये धेरैजसो पदहरू अधिकृत स्तर सातौँ र आठौँ तहका रहेका छन् ।
योग्य नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र स्वास्थ्य निर्देशनालयमा आवेदन दिन सक्नेछन् । तर, सर्भिलेन्स मेडिकल अधिकृतको हकमा भने सूचना प्रकाशित भएको ७ दिनभित्रै आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ । इच्छुक उम्मेदवारले आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेको हुनुपर्नेछ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!