काभ्रे - नसर्ने रोगका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै काभ्रेपलाञ्चोक जिल्लालाई राष्ट्रिय नमुना तथा सिकाइ केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । धुलिखेलस्थित हिमालय दृश्यमा आयोजित संवाद तथा नीतिगत छलफलमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. पोमावती थापाले काभ्रेपलाञ्चोकमा नसर्ने रोगको रोकथाम तथा व्यवस्थापनका क्रममा प्राप्त उपलब्धि, अनुभव र सिकाइबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
२०७९ भदौ १७ गतेदेखि सुरु भएको अभियानअन्तर्गत जिल्लाका १३ वटै पालिकाका १६७ स्वास्थ्य संस्थाबाट उच्च रक्तचाप भएका बिरामीको पहिचान, उपचार र निगरानी भइरहेको छ । स्थानीय सरकार र विश्व स्वास्थ्य संगठनको सहयोगमा ६१८ स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको छ भने करिब १० हजार व्यक्ति नियमित रूपमा उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन् । यसबाट उच्च रक्तचापबाट उत्पन्न हुन सक्ने जटिलता न्यूनीकरणमा सहयोग पुगेको जनाइएको छ ।
काभ्रेपलाञ्चोकमा सुरु भएको यो नमुना कार्यक्रम नेपालमै पहिलो भएको र त्यसको अनुभवका आधारमा हाल पर्सा, बारा, कैलाली र इलाममा समेत विस्तार गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । आगामी दिनमा कार्यक्रम क्रमशः अन्य जिल्लामा विस्तार गर्ने तयारी रहेको छ । प्रत्येक वर्ष एक लाख ३७ हजारभन्दा बढी मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको र करिब ४७ लाख व्यक्ति उच्च रक्तचापको जोखिममा रहेको कार्यक्रममा जानकारी दिइयो । सहभागीहरूले दक्ष स्वास्थ्यकर्मीमा आधारित सेवा, प्रोटोकलअनुसार उपचार, प्रभावकारी बिरामी प्रेषण प्रणाली, बिरामीको ट्र्याकिङ तथा फलोअप, औषधिको नियमित उपलब्धता र आपूर्ति सुनिश्चिततालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
विश्व स्वास्थ्य संगठनका वरिष्ठ स्वास्थ्य नीति सल्लाहकार डा. ग्याम्पो दोर्जीले काभ्रेपलाञ्चोकको अनुभव अन्य जिल्लाका लागि महत्वपूर्ण हुने बताए । उनले बिरामीको नियमित रेखदेख तथा औषधिको निरन्तर उपलब्धतामा विशेष ध्यान दिनुपर्ने धारणा राखे । प्रमुख अतिथी दिपक गौतम र कार्यक्रममा अध्यक्षता प्रदेश सचिव डा.सुमित्रा गौतमले काभ्रेपलाञ्चोक जिल्लाको सिकाई देशभर नमुना हुने बताए ।
कार्यक्रममा उच्च रक्तचापको उपचारबाट लाभ लिइरहेका दुई सेवाग्राहीले आफ्नो अनुभव सुनाउँदै स्वास्थ्यकर्मीको नियमित सेवा र औषधि सेवनले आफूहरूले नयाँ जीवन पाएको बताए । उनीहरूले उच्च रक्तचापसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउन जनचेतनामूलक प्रचार–प्रसार बढाउन सुझाव दिए ।
कार्यक्रममा स्वास्थ्यकर्मी तथा स्वास्थ्य शाखा प्रमुखहरूले उच्च रक्तचाप न्यूनीकरण अभियानका उपलब्धि र चुनौती प्रस्तुत गरेका थिए। विश्व स्वास्थ्य संगठनले तयार गरेको वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो । जिल्लामा उच्च रक्तचापको अवस्था र प्रगतिबारे भएको संवादलाई सतीश विष्टले सहजीकरण गरेका थिए । गोलमेच नीतिगत संवादपछि ९ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ । प्रतिबद्धतापत्रमा नागरिकलाई स्वास्थ्य सेवाको केन्द्रमा राख्ने, नसर्ने रोगसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै विस्तार गर्ने, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य सुदृढ गर्ने र दिगो प्राथमिक स्वास्थ्य सेवा प्रणाली विकास गर्ने उल्लेख छ ।
त्यस्तै, काभ्रेपलाञ्चोकलाई प्राथमिक स्वास्थ्य सेवाको राष्ट्रिय सिकाइ केन्द्रका रूपमा विकास गर्ने, स्रोत परिचालन तथा समन्वयमार्फत कार्यक्रमको दिगोपन सुनिश्चित गर्ने, तथ्य र परिणाममा आधारित जवाफदेहिता कायम गर्ने, राष्ट्रिय स्वास्थ्य प्रणाली रूपान्तरणमा स्थानीय तहको नेतृत्व स्थापित गर्ने तथा जिल्लालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सिकाइ तथा नमुना केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता गरिएको छ । उक्त प्रतिबद्धतापत्रमा काभ्रेपलाञ्चोकका १३ वटै पालिकाका प्रमुखहरूले हस्ताक्षर गरेका छन् ।
विश्व स्वास्थ्य संगठन, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, जिल्लाका १३ स्थानीय तह र जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमको प्रमुख आतिथ्यता रहेको थियो । विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको सहभागिता थियो ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!