‘सामाजिक सञ्जालले जन्माएको राक्षसी मानसिकता देख्दा लाग्छ– हामी मान्छे भएर बाँच्न बिर्सिंदै गयौँ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य श्रद्धा कुँवरले सामाजिक सञ्जालले अभिव्यक्तिलाई सहज बनाए पनि मानिसमा ‘राक्षसी मानसिकता’ समेत जन्माएको टिप्पणी गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कुँवरले प्रविधिको प्रयोग गर्न नेपाली समाजले तीव्र रूपमा सिके पनि मानवीय संवेदना कायम राख्ने विषयमा भने प्रश्न उठेको बताएकी छन् ।

उनले उमेर, परिवेश, संगत र जीवनमा घट्ने घटनाले मानिसको सोच, बुझाइ र प्राथमिकता परिवर्तन गर्ने उल्लेख गर्दै आफूभित्र आएको परिवर्तनलाई नियाल्नुपर्नेमा जोड दिएकी छन् । अरुलाई हेर्ने, नाप्ने र उनीहरूको जीवनमाथि टिप्पणी गर्ने प्रवृत्तिमा धेरै समय खर्च भइरहेको भन्दै उनले आत्मसमीक्षाको आवश्यकता औँल्याएकी छन् ।

कुँवरले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी र गुणस्तरीय जीवनसँगै नागरिक चेतना र जिम्मेवारीबोध पनि विकासको महत्त्वपूर्ण आधार भएको बताएकी छन् । उनले अधिकार, स्वतन्त्रता र अभिव्यक्तिको अधिकारको कुरा गर्दा त्यससँग जोडिएको जिम्मेवारीसमेत निर्वाह गर्नुपर्ने धारणा राखेकी छन् । आफ्ना शब्दले अरुलाई हौसला दिएको छ कि चोट पुर्‍याएको छ भन्ने विषयमा समेत सोच्नुपर्ने उनको भनाइ छ ।

स्वतन्त्रता आफूलाई बोल्ने अधिकारमा मात्र सीमित हुन नहुने उनको भनाइ छ । अरुलाई पनि आफ्नो अस्तित्व र विचारसहित बाँच्न दिने संस्कार नै वास्तविक स्वतन्त्रता हो । त्यस्तै, चेतना अरूको कमजोरी देख्न सक्नु मात्र नभई आफ्नै व्यवहारमाथि प्रश्न गर्न सक्ने क्षमतासमेत भएको उनले उल्लेख गरेकी छन् ।

उनले संसार बदल्न खोज्ने तर आफू परिवर्तन हुन नचाहने प्रवृत्तिलाई खतरनाक भन्दै परिवर्तन आफूभित्रैबाट सुरु हुनुपर्ने बताएकी छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई live24nepali@gmail.com मा पठाउनु होला । धन्यवाद ।