हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित योजनाबारे छलफल गर्न आफ्नो नेतालाई इजिप्ट पठाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार ज्यारेड कुशनरको विमान अवतरण हुनुअघि काएरो अहिले नयाँ विकल्पहरूको खोजीमा व्यस्त बनेको छ ।

कूटनीतिक प्रयासका पछाडि गाजामा आक्रमण कहिल्यै पूर्ण रूपमा रोकिएको छैन । हमासका राजनीतिक प्रमुख खालिल अल–हय्या इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न काएरो भ्रमणमा छन् ।

यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जरेड कुशनरको मध्यपूर्व भ्रमणअघि भएको हो।जुलाईको अन्त्यमा हमासको नेतृत्व सम्हालेपछि अल–हय्याको यो पहिलो इजिप्ट भ्रमण हो।

उनले आइतबार बिहान इजिप्टका गुप्तचर प्रमुख हसन रशादसँग भेट्ने हमास निकट स्रोतले बताएका छन् । अमेरिकी कुटनीतिज्ञ कुशनरले आगामी हप्ता इजरायल र इजिप्टको भ्रमण गर्नेछन् ।

उनको लक्ष्य इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अस्वीकार गरेको गाजा योजनामा देखिएको मतभेद कम गर्नु हो ।

शान्ति बोर्डका गाजाका लागि उच्च प्रतिनिधि निकोलाइ म्लादेनोभले पनि भ्रमणमा कुश्नरलाई साथ दिन्छन् । यो भ्रमण नेतन्याहुले १५ बुँदे योजनालाई सार्वजनिक रूपमा अस्वीकार गरेपछि भएको हो।

उक्त योजनाअनुसार हमासले आफ्ना हतियार नयाँ प्यालेस्टिनी शासन समितिलाई बुझाउने सहमति जनाएको थियो। हमासका राजनीतिक ब्युरो सदस्य बासेम नैमले शुक्रबार भने, “हमासले अहिले मध्यस्थकर्ता र अमेरिकालाई पर्खिरहेको छ, ताकि नेतन्याहुको सरकारलाई रोडम्याप पालना गर्न दबाब परोस् ।”

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई live24nepali@gmail.com मा पठाउनु होला । धन्यवाद ।