काठमाडौँ - वैदेशिक रोजगारको नाममा सोझासाझा नेपाली युवाहरूको सर्वस्व कुम्ल्याएर भागि सकेका कुख्यात ठग दीपक घिमिरेको महाठगी धन्दामा उनकी श्रीमती प्रियंका सिटौलाको समेत प्रत्यक्ष संलग्नता र पूर्ण साथ रहेको सनसनीपूर्ण खुलासा भएको छ ।
श्रीमती प्रियंका सिटौलाको नाममा कम्पनी खडा गर्ने, वैदेशिक रोजगारको नाममा गैरकानुनी रूपमा करोडौँ रकम असुल्ने र साहुहरूलाई पर्याप्त रकम नै नभएको (बाउन्स हुने) खाताका चेक दिएर ठग्ने संगठित योजनाबद्ध गिरोहको पर्दाफास भएको छ।
हामीलाई प्राप्त आन्तरिक राजस्व विभागको स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र अनुसार, प्रियंका सिटौलाको दस्तखतमा काठमाडौँको नक्सालमा दर्ता गरिएको 'पारामाउण्ट कन्सल्टेन्ट्स प्रा. लि.' (PAN No: 619673605) को कानुनी स्वीकृत व्यवसायको प्रकार केवल "सार्वजनिक भाषणका तालिमहरू, कम्प्युटर तालिम, भाषा प्रशिक्षण तथा बोलिचालीका प्रशिक्षण क्रियाकलापहरू" मात्र रहेको छ।
गैरकानुनी धन्दाको प्रमाण:
सरकारी निकायमा साधारण कम्प्युटर, भाषा र भाषण कलाको तालिम दिने भन्दै दर्ता गरिएको कम्पनीको आडमा यी दम्पतीले वैदेशिक रोजगारको नाममा करोडौँ रकम असुलेर सिधै गैरकानुनी र अवैध (Illegal) काम गरिरहेका थिए। वैदेशिक रोजगार विभागको अनुमतिबिनै मेनपावर/कन्सल्टेन्सीको आवरणमा युवाहरूलाई विदेश पठाउने नाममा रकम असुल्नु आफैँमा गम्भीर कानुनी अपराध हो।
पीडित युवाहरूका अनुसार पैसा फिर्ता माग्न ताकेता गर्दा दीपक घिमिरे र प्रियंका सिटौलाले आफ्नो व्यक्तिगत बैंक खाताको चेक तथा 'पारामाउण्ट कन्सल्टेन्ट्स' कम्पनीको खाताको चेक दिएर झुक्काएका थिए।
तर, पीडितहरू बैंक पुग्दा दुवै खातामा पर्याप्त रकम नै नभएको (Insufficient Balance) पाइयो। यसरी बाउन्स हुने चेक दिएर उनीहरूले पीडितहरूलाई झन् मानसिक तनाव र वित्तीय मारमा पारेका छन्। यो मुलुकी अपराध संहिता तथा चेक अनादर (Banking Offence) सम्बन्धी कानुन अनुसार सोझै जेल सजाय हुने बैंकिङ कसुर हो।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!