काठमाडौं - एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि भोलि शनिबारदेखि लागु हुने गरी थप सात दिन बढाएको छ । यससँगै अब प्रभावित क्षेत्रमा थप एक हप्ता कम्पनीका यी सेवाहरु निःशुल्क उपलब्ध हुनेछन् ।
यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अन नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो र सोही अनुसार सेवा दिदै आएको थियो । तीन दिने अवधि शुक्रबार समाप्त हुँदैछ ।
विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा उद्धार र राहत वितरणका पहललाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ । प्रभावित समुदायका सर्बसाधारणलाई परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीसँग सम्पर्कमा रहन सजिलो बनाउँदै कम्पनीले उक्त निःशुल्क सेवा अवधि थप गरेको जनाएको छ ।
“हाम्रो यो योगदानले प्रभावित समुदायलाई यो विपद्का बेलामा आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास लिएका छौं। यस कठिन समयमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हामी सबैको जिम्मेवारी हो,” एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!