काठमाडौँ - ८ वर्षपछि निर्देशनमा फर्किएकी रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक भएको छ । टिजरले प्रेम, विवाह, बाध्यता र धोकाको कथा प्रस्तुत गरेको छ ।
कवितात्मक लयबाट सुरु हुने टिजरमा संवाद छ, ‘जुन केटीसँग म विवाह गर्न आएँ, उनी त्यो थिइनन्, जसलाई मैले माया गरेको थिएँ ।’ यसले बाध्यता र विवशताको पनि संकेत गर्छ, जुन कुरा टिजरमा देखिने महिला पात्रहरू र मुख्य पुरुष पात्रको दृश्य, संवाद र अभिनयले पनि प्रस्ट पार्छ ।
टिजरमा दिल श्रेष्ठ, नीति शाह, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठलगायतका कलाकारको फिल्म भित्रको केही विषयवस्तु समेटिएको छ ।
निर्देशक थापाले यसअघिका ‘एक्सन’ र ‘नारी शक्ति’लाई बढी प्राथमिकता दिने गरे पनि यस पटक उनले यो फिल्ममा ‘इमोसनल ड्रामा’लाई रोजेकी छिन् ।
भदौ २६ गते रिलिज हुने फिल्ममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र विनोद पौडेललगायतको अभिनय छ ।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् ।
ध्रुव लम्सालको पटकथा लेखन, सुदीप बरालको छायांकन रहेको फिल्म रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!