नेपाली उत्पादनलाई युरोपेली बजारमा पुर्‍याउन ब्रान्ड, गुणस्तर र प्याकेजिङमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष (उद्योग तथा वाणिज्य) दिल सुन्दर श्रेष्ठको बेल्जियम भ्रमणका अवसरमा नेपाली व्यवसायी संघ बेल्जियम (नेबाब) ले नेपाली उत्पादनको प्रवर्द्धन, लगानी र व्यवसायका चुनौतीबारे अन्तरक्रिया गरेको छ।

शनिबार एन्टवर्पमा आयोजित कार्यक्रममा बेल्जियमका विभिन्न सहरबाट नेपाली उद्यमी तथा व्यवसायीको उल्लेख्य सहभागिता थियो। कार्यक्रममा नेबाबका महासचिव रामचन्द्र सुवेदीले सञ्चालन तथा स्वागत गरेका थिए।

नेबाबका अध्यक्ष कासी दनैले बेल्जियममा नेपाली व्यवसायीको अवस्था, व्यवसायका क्षेत्र तथा संस्थाका गतिविधिबारे जानकारी दिँदै यस्ता कार्यक्रमलाई औपचारिक भेटघाटमा मात्र सीमित गर्न नहुने बताए। बेल्जियमका नेपाली व्यवसायी, एफएनसीसीआई र नेपाल सरकारबीच सहकार्यको माध्यमका रूपमा यस्ता कार्यक्रमलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।

नेपाली व्यवसाय र उत्पादनसँग सम्बन्धित समस्या, लगानीका अवसर तथा निर्यात–आयातका चुनौतीलाई साझा रूपमा उठाउनुपर्नेमा दनैले जोड दिए। प्रवासी नेपालीको लगानी, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाल नेपालका लागि ठूलो पुँजी भएको उल्लेख गर्दै उनले एफएनसीसीआईले विश्वभरका गैरआवासीय नेपाली व्यवसायीका एजेन्डालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए।

हालैको नेपाल भ्रमणमा उत्पादन क्षेत्रको अवलोकन गरेको प्रसंग उल्लेख गर्दै दनैले कफी, कपडालगायत नेपाली उत्पादनमा ठूलो सम्भावना रहेको बताए। आफ्नै उत्पादन र उद्योगलाई प्रवर्द्धन गर्दै नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनुपर्ने उनको भनाइ थियो।

दनैले नेबाब र एफएनसीसीआईबीच औपचारिक सम्बन्ध स्थापना गरी सूचना, सम्पर्क तथा व्यावसायिक सिफारिसका लागि दुवैतर्फ एक–एक सम्पर्क बिन्दु तोक्नुपर्ने प्रस्ताव पनि राखे। विप्रेषणलाई उत्पादनमूलक लगानीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले प्रवासी नेपालीको पुँजी नेपालमा भित्र्याउन स्पष्ट लगानी मार्गचित्र र लगानी संरक्षणको प्रत्याभूति आवश्यक रहेको बताए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्