अष्ट्रेलिया । दक्षिण अष्ट्रेलियामा नेपाली समुदायको पुरानो संस्था एडिलेड नेपाली समाजको सातौँ द्विवार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले सन् २०२६–२८ का लागि बालगोपाल उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी सापकोटा र एडिलेड नेपाली विद्यालयका प्राचार्य हिमाल कडेल (पदेन), सचिवमा प्रदीप निरौला, उपसचिवमा विकास पौडेल, कोषाध्यक्षमा पुष्पा बन्जाडे र जनसम्पर्क अधिकृतमा सुरेन्द्र रेग्मी चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा निवर्तमान अध्यक्ष श्याम दाहाल, रामकृष्ण शर्मा, बन्धु विक्रम कार्की, खगेन्द्र सत्याल, दिपा दाहाल र बाल सापकोटा चयन भएका छन्।
साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि दक्षिण अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले एडिलेड नेपाली समाजले नेपाली समुदायका लागि पुर्याउँदै आएको योगदानको प्रशंसा गरिन्।
कार्यक्रममा एनआरएनए दक्षिण अष्ट्रेलियाका संयोजक थिर गुरुङ तथा एडिलेड नेप्लिज क्रिकेट एसोसिएसन एवं ओशियाना मिट २०२७ का अध्यक्ष विजय जोशीले समाजले नेपाली समुदायमा पुर्याएको योगदानको चर्चा गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए।
अध्यक्ष श्याम दाहालको अध्यक्षता तथा सचिव सागर श्रेष्ठको सञ्चालनमा भएको खुला सत्रमा उपाध्यक्ष बालगोपाल उपाध्यायले स्वागत मन्तव्य दिएका थिए।
शनिबार स्थानीय फ्रेस चुल्हो नेपाली रेस्टुरेन्टको सभाहलमा आयोजित सभाले अध्यक्ष श्याम दाहालले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष आनन्द बखरेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा एडिलेड नेपाली विद्यालयका प्राचार्य हिमाल कडेलले प्रस्तुत गरेको विद्यालयको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो।
सभाका क्रममा शनिबारदेखि सार्वजनिक गरिएको एडिलेड नेपाली समाजको वेबसाइटबारे वेबसाइट निर्माण समितिका संयोजक सूर्य आचार्यले जानकारी गराएका थिए।
नयाँ कार्यसमिति चयनका लागि अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्का, एनआरएनए ओशियाना संयोजक रमेश जोशी, फेडेरेसन अफ नेप्लिज कम्युनिटी अर्गनाइजेसन अफ अष्ट्रेलिया (फेन्का)का उपाध्यक्ष कपिल पाण्डे, एनआरएनए ओशियानाका पूर्वसहसंयोजक नवीन कडेल तथा एडिलेड नेपाली समाजका पूर्वअध्यक्ष एवं हेल्प नेपाल अष्ट्रेलियाका अध्यक्ष सन्तोषी गौतम सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
निर्वाचन समितिका सदस्य कपिल पाण्डेले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!