काठमाडौं - एपिएफका क्षितिज खनाल र एपिएफकै प्रिन्स दाहाल १४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत शीर्ष आठ वरीयता पुरुष एकलको फाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको शनिबार भएको सेमिफाइनलमा क्षितिजले पिस फिटनेस क्लबका विष्णु कटुवाललाई १८–२१, २१–७ र २२–२० ले हराए । दोस्रो सेमिफाइनलमा एपिएफका नम्बर एक खेलाडी प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २२–२४, २१–१४ र २१–१२ ले हराउँदै क्षिजितसँगको भेट पक्का गरेका हुन् ।
क्षितिजले लिगको पहिलो खेलमा प्रिन्सलाई पराजित गरेका थिए । प्रिन्सलाई फाइनलमा त्यसको बदला लिने अवसर जुरेको छ । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला शीर्ष आठ एकल प्रतिस्पर्धाम नेपाल नम्बर एक आर्मीकी रसिला महर्जन फाइनल प्रवेश गरिन् । उनले सेमिफाइनलमा नेपाल पुलिसकी निता लम्साल माथि २१–१३ र २१–१३ को जित निकालिन् ।
अर्को खेलमा पुलिसकी शेस्ना श्रीपालीले एपिएफकी रिहाना सेरचनलाई पराजित गर्दै उपाधिका लागि रसिलासँगको भेट पक्का गरिन् । शेस्नाले रिहानामाथि २१–१६ र २१–१८ को जित निकालेकी हुन् ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!