"विपद्पछि भ्रम फैलाइयो, सदनबाट सत्यतथ्य जनतासम्म पुर्‍याउनुपर्छ" : वासना थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले विपद्को बेलामा सरकारलाई काम गर्न दिनुपर्ने बताएकी छन्। कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उद्धार र राहतको काममा सरकारलाई सबैले सहयोग गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘अहिले पनि टनेलमा कति मान्छेहरू जिउँदै छन् भन्ने आशंकामा खोजी भइरहेको छ। जङ्गलमा धेरै मान्छेहरू फसिरहनु भएको छ। त्यसैले हामी सरकारसँगै छौँ।’

हिजोकै २४ जनाको शव भेटिएको घटनामा सरकार चुक्यो भन्नु भन्दा पनि उद्धारलाई प्रभावकारी बनाउनुपर्ने बताइन्।

उनले भनिन्, ‘विपद्मा परेका अधिकांश मानिसहरूको धनजनको क्षति भएको छ। उहाँहरूको उद्धारतिर लागौँ। राजमार्ग अहिले बन्द भएको अवस्थाले आवतजावतमा गाह्रो छ।’

उनले व्यापारीहरूलाई पनि सङ्कटको बेलामा कालोबजारी र महँगीतिर नलाग्न आग्रह गरिन्। उनले यो समयमा सदनबाट पनि धेरै कुरा आउने भएर बैठक राख्ने निष्कर्षमा पुगेको बताइन्।

उनले भनिन्, ‘सांसदहरू धेरै गएर भिडभाड नगर्ने भनेर हामीले आवश्यक मान्छेहरू खटाइ सकेका छौँ। जो संसद्मा बसेर काम गर्न सक्नुहुन्छ उहाँहरूको त्यहाँको समस्याहरू लिएर संसद्मा राख्नुहुन्छ।’

उनले सङ्कटको बेलामा भ्रम फैलाइएको भन्दै असन्तुष्टि जनाइन्।

उनले भनिन्, ‘आधिकारिक मिडियाले तथ्य–सत्य कुराहरू बाहिर ल्याइरहनुभएको छ, कतिले भ्रम फैलाइरहेका छन्। जनताहरूको विश्वास सदनमाथि छ। सदनबाट बोलेका कुराहरू सत्य हुन्छन् भन्ने जनतामा परेको छ। त्यसैको लागि पनि हामीले सदन खोल्नुपर्ने र त्यहाँ भएका घटनाहरू राख्न पनि जरुरी छ।’

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।


प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्