काठमाडौं - श्री चाँगुनारायण माध्यमिक विद्यालयका चानपा–१ भक्तपुरका विद्यार्थीहरूले प्राकृतिक विपदमा परेका नागरिकहरूको सहयोगार्थ उदाहरणीय मानवीय कार्य गरेका छन् । विद्यालयमा प्रारम्भिक बाल विकास (ECD) देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्चबाट जोगाएको बचत रकम संकलन गरी राहत कोषमा जम्मा गरेका हुन् । बालबालिका तथा युवा विद्यार्थीहरूको यो सक्रियताले स्थानीय स्तरमा ठूलो प्रशंसा पाएको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो संख्यामा नागरिकहरू प्रभावित बनेका थिए। उक्त बाढीले विशेष गरी रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाहरूमा अपूरणीय मानवीय तथा भौतिक क्षति पुर्याएको छ । सोही विपद्को घडीमा प्रभावित क्षेत्रका पीडितहरूलाई तत्काल राहत र उद्धारमा सघाउ पुर्याउने उद्देश्यले विद्यार्थीहरूले सहयोग हात अगाडि बढाएका हुन् ।
विद्यार्थीहरूले आफूले संकलन गरेको कुल रु. १७,२००।– (सत्र हजार दुई सय) सहयोग रकम औपचारिक रूपमा प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । सानो-सानो बचतबाट संकलन गरिएको यो रकम विपद् व्यवस्थापन र पीडितहरूको पुनर्थापनाका लागि कोषमार्फत उचित ठाउँमा उपयोग हुने विश्वास लिइएको छ ।
विद्यार्थीहरूको यो सानो तर अत्यन्तै महत्त्वपूर्ण बचतबाट गरिएको मानवीय सहयोगले भोटेकोशी बाढीपीडितहरूका लागि ठूलो राहत पुर्याउनेछ । संकटको समयमा देखाएको यो तत्परताले केवल आर्थिक सहयोग मात्र पुर्याएको छैन, बरु समाजमा आपत्कालीन अवस्थामा एक-अर्कालाई सहयोग गर्ने, सेवा गर्ने र मानवीयताको भावना अभिवृद्धि गर्ने उत्कृष्ट दृष्टान्त पनि पेस गरेको छ ।
विद्यालय परिवार तथा सरोकारवालाहरूले विपद्को यस कठिन समयमा देखाएको संवेदनशीलताका लागि सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन् । विद्यार्थीहरूको यो भावनाले समाजका अन्य वर्ग र समुदायलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्न र पीडितहरूको घाउमा मलम लगाउन ठूलो प्रेरणा दिएको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!