काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि), व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै र परीक्षाको समयमा बाहिरिएको घटनामा संलग्न रहेको आरोपमा सात जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
सरकारी वकिलको कार्यालयले 'शिक्षा ऐन, २०२८' अन्तर्गतको कसुरमा उक्त अभियोग पत्र दायर गरेको हो ।
यस प्रकरणमा मुख्य अभियुक्तको रूपमा भक्तपुरको मध्यपुर थिमि बस्ने ३३ वर्षीय सन्दीप सिंह रहेका छन् । सिंह काठमाडौँको बागबजारस्थित केएमसी कलेज र कोटेश्वरस्थित हिमालय कलेजमा वित्त विषयका शिक्षक हुन् ।
उनीसँगै विद्यार्थीहरू अतुल कुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेश प्रसाद यादव, खुश्बु गिरी, देवनाथ महतो र रन्जु कुमारी गिरीलाई पनि प्रतिवादी बनाइएको छ । अभियुक्तमध्ये कतिपय अझै फरार रहेका छन् ।
२०८३ साउन ६ गते सञ्चालित 'म्यानेजमेन्ट- ५१५ र साउन ८ गतेको 'स्टाटिस्टिकल मेथड्स' एमबीएस प्रथम सेमेष्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा छरपस्ट भएको थियो । 'टीयू स्टुडेन्ट' नामको फेसबुक ग्रुप र विभिन्न ह्वाट्सएप ग्रुपहरूमा 'सुलभ सर' नामको आईडीबाट प्रश्नपत्रका फोटोहरू र उत्तरहरू समेत शेयर गरिएको फेला परेको थियो ।
प्रतिक्रिया