काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति र केन्द्रीय समितिको वैधानिकताको विषयमा कुनै अलमलमा पर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
शनिबार ललितपुरमा दोस्रो झापा १- काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका उपसभापति शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सही भनेको अवस्थामा सभापति र केन्द्रीय समितिको वैधानिकताको विषयमा कुनै अलमलमा पर्नु नपर्ने बताएका हुन् ।
उनले सर्वोच्च अदालतले गरेको फैसला सबैले स्वीकार्नुपर्ने र अदालतले पार्टीको केन्द्रीय समितिलाई बदर नगरेको तथा सभापति गगन थापा नै रहेको कुरा स्पष्ट पारेको स्मरण गर्न संस्थापन इतर समूहलाई आग्रह गरे ।
पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै उपसभापति शर्माले पार्टीमा विधिको सर्वोच्चता रहने दाबी गरे । उनले खेलमा दर्शकले नभई रेफ्रीले मात्र पहेँलो वा रातो कार्ड देखाउन पाएजस्तै, राजनीतिमा पनि आधिकारिक निर्णय लिने वा ‘कार्ड’ देखाउने अधिकार केवल निर्वाचन आयोग र सर्वोच्च अदालतलाई मात्र हुने तर्क गरे ।