काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौंस्थित विभिन्न सामुदायिक विद्यालयको अवलोकन गरेका छन्।
सामुदायिक विद्यालयको शैक्षिक अवस्था, विद्यालय व्यवस्थापन, विद्यार्थीका समस्या तथा आवश्यकताबारे प्रत्यक्ष जानकारी लिन शिक्षा मन्त्रालयले देशभरका सामुदायिक विद्यालयको अवलोकन गर्ने अभियान सुरु गरेको हो। त्यही क्रममा मन्त्री पोखरेलले काठमाडौंका चार सामुदायिक विद्यालयमा पुगेर विद्यालय प्रशासन, शिक्षक तथा विद्यार्थीसँग अन्तरक्रिया गरेका छन्।
उनले विद्यालयको समग्र अवस्था, पठनपाठनको स्थिति, विद्यार्थीका समस्या तथा विद्यालय सुधारका लागि आवश्यक पहलका विषयमा जानकारी लिएका थिए। अवलोकनका क्रममा प्राप्त सुझाव र समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा मन्त्रालयले प्राथमिकताका साथ काम गर्ने बताएका छन्।
सोमबार मन्त्री पोखरेलले बाल विकास आधारभूत विद्यालय, पञ्चकन्या माध्यमिक विद्यालय, आत्म विकास आधारभूत विद्यालय र बुढानीलकण्ठ उच्च माध्यमिक विद्यालयको अवलोकन गरेका हुन्।
मन्त्रालयका अनुसार सामुदायिक विद्यालयको वास्तविक अवस्था पहिचान गर्दै देखिएका समस्या समाधान तथा आवश्यक सुधारका क्षेत्रमा प्रभावकारी समन्वय र पहल गर्ने उद्देश्यले देशभर सामुदायिक विद्यालयको अवलोकनलाई देशव्यापी रूपमा निरन्तरता दिइनेछ।
प्रतिक्रिया