रसुवाको टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा पहिरो र माटोमुनि पुरिएकी एक ६ वर्षीया बालिकालाई सशस्त्र प्रहरीको टोलीले शुक्रबार साँझ सकुशल उद्धार गरेको छ।

भोटेकोशी नदीमा आएको बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले माटोमुनिबाट बालिका रोएको आवाज सुनेपछि तत्काल खोजी तीव्र पारेर उनलाई बाहिर निकालेको थियो।

माटोको थुप्रोबाट निकालिएलगत्तै ती बालिकालाई प्राथमिक हेरचाहका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) टिमुरे पुर्‍याइएको थियो।

बीओपीमा न्यानो बनाएर राखिए पनि बालिकाको स्वास्थ्य अवस्था क्रमशः कमजोर बन्दै गएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी गरिएको छ।

प्रतिकूल मौसम र रातको समय भएका कारण तत्काल हेलिकप्टर उडान गर्न समस्या भए पनि बालिकाको उपचार व्यवस्था मिलाउन प्रयास भइरहेको छ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा हराइरहेका अन्य व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीको टोली निरन्तर खटिरहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।


प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्