काठमाडौं - मिती २०८३ भाद्र १२ गतेका दिन वाईबा समाज सेवा समिति महाभारत–६, काभ्रेले रसुवाका बाढीपीडित परिवारहरूका लागि राहत सामग्री वितरण गरेको छ । प्राकृतिक विपत्तिका कारण ठूलो क्षति व्यहोरिरहेका पीडितहरूलाई सहयोग पुर्याउने उद्देश्यले समितिले कुल १,११,९००/- (एक लाख एघार हजार नौ सय) रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको हो। बाढीबाट अति प्रभावित त्रिशूली बजारमै पुगेर उक्त सामग्री हस्तान्तरण गरिएको छ।
वितरण गरिएको राहत सामग्रीहरूमा २१२ कार्टुन वाइवाइ चाउचाउ तथा खानेपानी रहेका छन्। बाढीपीडित क्षेत्रमा अत्यावश्यक बनेका यी खाद्यान्न तथा पानी स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहबरमा व्यवस्थित रूपमा वितरण गरिएको समितिले जनाएको छ। प्रत्यक्ष रूपमा क्षतिग्रस्त स्थलमा पुगेर गरिएको यस सहयोगले पीडितहरूलाई तत्कालको छाक टार्न र राहत महसुस गराउन ठूलो मद्दत पुगेको छ।
उक्त राहत सामग्री वाईबा समाज सेवा समितिको विशेष आह्वानमा सङ्कलन गरिएको हो। समाजका सदस्यहरू, वाईबा परिवारका व्यक्तिहरू तथा अन्य मनकारी शुभचिन्तक एवं सहयोगी दाताहरूको स्वतःस्फूर्त योगदानबाट यो राहत कोष तथा सामग्री जुटाइएको थियो। देशमा आइपरेको संकटको घडीमा सबैको सानो-सानो सहयोगले पनि ठूलो राहतको रूप लिन सक्छ भन्ने उदाहरण यस अभियानले प्रस्तुत गरेको छ।
देशमा आइपरेको यस्तो महाविपत्तिका बेला समाजको अपिललाई स्वीकार गर्दै दिल खोलेर सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति वाईबा समाज सेवा समिति महाभारत, काभ्रेले हार्दिक धन्यवाद ज्ञापन गरेको छ। विपत्तिको समयमा अहोरात्र खटिएर सहयोग पुर्याउने सबै मनकारी हातहरूकै कारण यो अभियान सफल भएको भन्दै समितिले आगामी दिनहरूमा पनि यस्तै सामाजिक तथा मानवीय कार्यहरूमा एकजुट भई अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!