काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै किसानको खेतीयोग्य जमिन, बालीनाली र पशुधन ध्वस्त बनाएको भन्दै नेपाल किसान महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघको केन्द्रीय कार्यालय काठमाडौँले प्रेस विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्न सरकारसँग जोडदार माग गरेको छ ।
बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै महासंघले शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार, र घाइते तथा विस्थापितको प्रभावकारी उपचार र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तिमा महासंघका महामन्त्री राजाराम पुडासैनीले किसानको जीवन र जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएका खेतबारी कटान, बालीनाली नष्ट, पशुधनको क्षति र सिँचाइ संरचना विनाशले प्रभावित किसानहरू दीर्घकालीन आर्थिक संकटमा पर्ने जोखिम औंल्याएका छन् । महासंघले विपद्को क्षतिको मूल्याङ्कन गर्दा कृषि क्षेत्रलाई छुट्टै प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ ।
नेपाल किसान महासंघले सरकारसमक्ष राखेका ७ प्रमुख मागहरू:
तत्काल क्षति मूल्याङ्कन: बाढी प्रभावित किसानको घर, खेतबारी, बालीनाली, पशुधन र कृषि संरचनाको तत्काल क्षति मूल्याङ्कन गरिनुपर्ने।
राहत तथा कृषि सामग्री वितरण: प्रभावित किसानलाई खाद्यान्न, बीउबिजन, मलखाद, कृषि औजार र पशुपन्छीका लागि आवश्यक सहायता तुरुन्त उपलब्ध गराइनुपर्ने।
पूर्वाधार पुनर्निर्माण: क्षति पुगेका खेतबारी, सिँचाइ कुलो, कृषि सडक तथा अन्य कृषि पूर्वाधारको तत्काल पुनर्निर्माण गरिनुपर्ने।
विशेष पुनर्स्थापना प्याकेज: पशुधन गुमाएका किसानलाई उचित क्षतिपूर्ति र पुनः पशुपालन सुरु गर्न विशेष पुनर्स्थापना प्याकेज दिइनुपर्ने।
ऋण मिनाहा र पुनर्तालिकीकरण: कृषि ऋण लिएका प्रभावित किसानको ऋणको ब्याज मिनाहा/स्थगन तथा ऋण पुनर्तालिकीकरणको व्यवस्था गरिनुपर्ने।
दीर्घकालीन जोखिम न्यूनीकरण: बाढी पूर्वसूचना प्रणाली, तटबन्ध, सुरक्षित कृषि पूर्वाधार र जलवायु अनुकूल कृषि कार्यक्रमलाई प्राथमिकता दिइनुपर्ने।
आयआर्जन कार्यक्रम: राहतसँगै दीर्घकालीन पुनर्स्थापना र आयआर्जनका विशेष कार्यक्रम सञ्चालन गरिनुपर्ने।
यस दुःखद घडीमा रसुवाका सम्पूर्ण किसानहरूसँगै रहेको प्रतिबद्धता व्यक्त गर्दै महासंघले उद्धार, राहत र पुनर्स्थापनाको कार्यमा एकजुट हुन सरकार, राजनीतिक दल, स्थानीय तह, निजी क्षेत्र र सम्पूर्ण नागरिक समाजलाई अपिलसमेत गरेको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!