काठमाडौं - भोटेकोशी बाढीका कारण उत्पन्न प्राकृतिक विपत्तिप्रति पूर्वराजा ज्ञानेन्द्रले गहिरो दुःख व्यक्त गरेका छन् । बेपत्ता भएका नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिन र घाइतेहरूको उपचार गर्न सरकार र सम्बन्धित निकायलाई उनको आग्रह छ ।
शाहले जारी गरेको सन्देशमा भनिएको छ, ‘बाटोघाटो, पुलपुलेसा, विद्युत् आयोजना तथा भौतिक संरचना र खेतीपातीमा पुगेको अपार क्षतिले हामीलाई अत्यन्तै दुःखित तुल्याएको छ ।’
पूर्वराजाले आफ्नो सन्देशमा यस्ता प्राकृतिक प्रकोपको क्षति कम गर्न एकल प्रयासभन्दा ‘त्रिदेशीय संयुक्त प्रयास’ (नेपाल, भारत र चीन) प्रभावकारी हुने उल्लेख गरेका छन् । सीमासँग जोडिएका छिमेकी देशहरूमा आउने विपत्तिले एक अर्कालाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले साझा रणनीतिको आवश्यकतामा उनले जोड दिएका हुन् ।
विपत्तिको यस घडीमा सरकार, सुरक्षा निकाय, स्थानीय तह र सामाजिक सङ्घ-संस्थाहरूलाई एकजुट भएर उद्धार र राहत कार्यमा लाग्न उनले आह्वान गरेका छन् ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!