काभ्रे कांग्रेसको ठूलो सहयोग: भोटेकोशी बाढीपीडितका लागि १७ लाख ६२ हजार सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित बनेका नागरिकको राहत तथा उद्धारका लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले १७ लाख ६२ हजार ९५७ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।

भोटेकोशीको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन लगायतका जिल्लाहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि सो क्षेत्रका पीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले काभ्रे कांग्रेसले यो आर्थिक पहलकदमी लिएको हो ।

पार्टीका सक्रिय सदस्य तथा शुभेच्छुकहरूबाट संकलन गरिएको उक्त रकम सानेपा स्थित पार्टीको केन्द्रीय कार्यालय पुगेर नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले पार्टीका सह-महामन्त्री उदय शमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई हस्तान्तरण गर्नुभएको हो।

मानवीय सेवाका खातिर संकलन गरिएको यो रकम पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने बताइएको छ। नेपाली कांग्रेसले विपद्को यस घडीमा सरकारी कोषमा कूल १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ।

रकम ग्रहण गर्दै नेपाली कांग्रेसका सह-महामन्त्री उदय शमशेर राणाले कठिन परिस्थितिमा बाढीपीडितको उद्धार र राहतका लागि काभ्रेपलाञ्चोक कांग्रेसले देखाएको यो तत्परता र योगदानप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। त्यसैगरी पार्टीका प्रवक्ता देवराज चालिसेले काभ्रे कांग्रेसका नेता तथा कार्यकर्ताहरूले फराकिलो भावना प्रस्तुत गर्दै संकलन गरेको यो सहयोगले प्रभावित क्षेत्रका नागरिकको घाउमा मल्हम लगाउन ठूलो भूमिका खेल्ने उल्लेख गर्नुभयो।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले प्राकृतिक विपद्को कठिन समयमा पीडित नागरिकको दुःखमा सारथी बन्नु, आवश्यक सहयोग जुटाउनु र उद्धार कार्यमा हातेमालो गर्नु सम्पूर्ण नागरिक तथा राजनीतिक दलको साझा दायित्व भएको बताउनुभयो। यो सानो सहयोगले पनि बाढी प्रभावितहरूको पीडामा केही हदसम्म भए पनि राहत पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।


प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्