काठमाडौं - बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१, दसधुरी निवासी ३ वर्षीया अबोध बालिका गरिमा चौधरीको बलात्कारपछि भएको निर्मम हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन तथा दीप प्रज्वलन गरिएको छ ।
राजधानीको गोकर्णेश्वरस्थित दक्षिणढोकामा दक्षिण ढोका उत्थान युवा क्लबको आयोजनामा दीप प्रज्वलन गरी मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घटनाका दोषीलाई कडा कारबाहीको माग गरिएको हो ।
दक्षिणढोका चोकमा भेला भएका युवा, स्थानीय बासिन्दा तथा नागरिक समाजका प्रतिनिधिहरूले मृतका गरिमा चौधरीको आत्माको शान्तिका लागि दीप प्रज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे। हातमा मैनबत्ती बोकेर उभिएका सहभागीहरूले यस्ता अमानवीय र क्रूर घटनाले सिङ्गो समाजलाई नै स्तब्ध बनाएको भन्दै बलात्कारी र हत्याराहरूलाई तत्काल हदैसम्मको कानुनी सजाय दिनुपर्ने जोडदार माग गरे ।
दीप प्रज्वलन कार्यक्रममा बोल्दै दक्षिण ढोका उत्थान युवा क्लबका अध्यक्ष राजेश जिम्बाले बालबालिकामाथि भइरहेका यस्ता जघन्य अपराध रोक्न राज्य प्रशासन थप गम्भीर र कडाइका साथ प्रस्तुत हुनुपर्ने बताए । अबोध बालिकामाथि भएको यस्तो बर्बर अपराधमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा उम्किन दिन नहुने र उनीहरूलाई सर्वस्वसहित जन्मकैद वा फाँसी सरहको कडा सजाय हुनुपर्ने धारणा उपस्थित युवाहरूले व्यक्त गरेका छन् ।
३ वर्षीया गरिमा चौधरीको घटनापछि देशैभर आक्रोश र शोकको वातावरण सिर्जना भएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको भए पनि देशका विभिन्न स्थानमा न्यायको माग गर्दै प्रदर्शनहरू भइरहेका छन्। काठमाडौँमा आयोजित यस दीप प्रज्वलन कार्यक्रममार्फत आयोजक क्लबले अविलम्ब न्याय दिलाउन र देशमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन सरकार र न्यायिक निकायसँग अपिल गरेको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!