काठमाडौं – इरानलाई सोझो सेटमा हराउँदै मंगलवार नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
नेपालले भोलि उपाधिका लागि दक्षिण एसियन जाइन्ट भारतको सामना गर्नेछ। जारी प्रतियोगितामा नेपालको यो चौथो जित हो। अब उपाधिको लागि नेपाल एक जित टाढा रहेको छ।
इरानसँग लिग चरणमा भोगेको हारको बदला लिंदै फाइनलमा पुग्ने सोचमा रहेको नेपालले सुरूवात राम्रो गर्यो । नेपाली टिमले आमविश्वासी प्रदर्शनमा पहिलो सेटमा इरानको युवा टोलीलाई २५-२१ ले हरायो। नेपालले खेलमा १-० को अग्रता बनायो। दोस्रो सेट नाटकीय बन्यो ।
नेपालले एक समय बनाएको ६ अंकको अग्रता गुमाउँदा इरानले २४-२१ को अग्रता बनायो । इरान सेट प्वाइन्टको लागि मात्र एक अंकको खोजीमा थियो।तर नेपालले लगातार ३ अंक जोडेर खेललाई २४-२४ मा पुर्यायो ।
संगठित प्रदर्शनमा नेपालले यो सेट २८-२६ ले जित्दै खेलमा २-० को स्पष्ट अग्रता बनायो । तेस्रो सेट सुरूवात मा प्रतिस्पर्धात्मक बन्यो । तर नेपालले इरानलाई मौका नै दिएन र २५-२० ले हराउँदै सोझो सेटको जित दर्ज गर्यो ।
नेपाल लिग चरणमा दोस्रो हुँदै र इरान तेस्रो भएर सेमिफाइनलमा प्रवेश गरेका हुन । अब भोलि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।
नेपालले जारी प्रतियोगिताको लिगमा भारत विरूद्ध पहिलो पटक जित हात पारिसकेको छ । फाइनल खेल भोलि साँझ ५ बजे हुनेछ। इरान र श्रीलंकाबीच तेस्रो स्थानको लागि दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।
























