काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आइतबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रतिवेदन हस्तान्तरण गरेको हो । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुन विशेषज्ञ विश्वेश्वर भण्डारी सदस्य रहेका थिए ।
अन्तरिम सरकारको मन्त्रिपरिषद् बैठकले गत असोज ५ गते उक्त घटनाको सत्यतथ्य छानबिन गर्न यो आयोग गठन गरेको थियो ।
सुरक्षामा गम्भीर कमजोरी, दोषीलाई कारबाहीको सिफारिस
प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका सदस्य एवं पूर्वएआईजी विज्ञानराज शर्माले आन्दोलनका क्रममा सुरक्षा व्यवस्थामा कमजोरी (सेक्युरिटी ल्याप्सेस) देखिएको बताए ।
उनले घटनामा दोषी देखिएकाहरूलाई कारबाहीका लागि स्पष्ट सिफारिस गरिएको जानकारी दिए ।
‘हामीले देखेका, बुझेका र प्रमाणका आधारमा राय सुझाव दिएका छौँ,’ शर्माले भने, ‘जसले गल्ती गरेको छ उसलाई कारबाही हुन्छ, जसले राम्रो गरेको छ उसलाई पुरस्कृत गर्न सरकारलाई सिफारिस गरेका छौँ । कारबाहीको सिफारिस छ भन्ने कुरामा म प्रस्ट पार्न चाहन्छु ।’
तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीलाई फौजदारी अभियोग सिफारिस गरिएको छ कि छैन भन्ने पत्रकारको प्रश्नमा शर्माले विस्तृत विवरण नखुलाए पनि दोषीमाथि कारबाही हुनेमा ढुक्क हुन आग्रह गरे । उनले संसद भवन परिसरमा ब्यारिकेड राख्ने लगायतका कार्यमा सुरुदेखि नै कमजोरी देखिएको उल्लेख गरे ।



















