काभ्रे – काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ मा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएकी आशा तामाङ लाई भँगेरा चुनाव चिन्हमा मतदान गर्न अपिल गरिएको छ। क्षेत्रका विभिन्न स्थानमा भइरहेका भेटघाट, अन्तर्क्रिया र घरदैलो कार्यक्रममा समर्थक तथा नागरिक समाजका अगुवाहरूले आशालाई मत दिएर प्रतिनिधित्वको नयाँ अभ्यास थाल्न आग्रह गरेका हुन्।
एकमात्रा स्वतन्त्र महिला उम्मेदवारको रूपमा मैदानमा उत्रिएकी तामाङले महिला सहभागिता, स्थानीय मुद्दाको समाधान र पारदर्शी नेतृत्वलाई आफ्नो प्रमुख एजेन्डा बनाएकी छन्। उनका अनुसार दलगत स्वार्थभन्दा माथि उठेर जनताको आवाज संसदसम्म पुर्याउनु नै आफ्नो उम्मेदवारीको मूल उद्देश्य हो।
घरदैलो अभियानका क्रममा तामाङले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा देखिएका समस्यालाई प्राथमिकताका साथ उठाउँदै आएकी छन्। उनले स्थानीय तहसँग सहकार्य गरेर काभ्रेका ग्रामीण तथा शहरी क्षेत्रका साझा समस्यामा केन्द्रित नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
समर्थकहरूले भँगेरा चुनाव चिन्हलाई सरल, पहिचानयोग्य र स्वतन्त्रताको प्रतीकका रूपमा व्याख्या गर्दै तामाङलाई जिताएर संसदमा फरक आवाज स्थापित गर्नुपर्ने धारणा राखेका छन्। उनीहरूका अनुसार स्वतन्त्र उम्मेदवारलाई जिताउँदा जवाफदेहिता बढ्ने र जनताको प्रत्यक्ष निगरानी सशक्त हुने विश्वास छ।
महिला, युवा र सचेत नागरिकहरूको उल्लेखनीय सहभागितासहितका भेटघाट कार्यक्रममा तामाङप्रति सकारात्मक प्रतिक्रिया देखिएको छ। मतदाताहरूले स्थानीय प्रतिनिधित्व बलियो बनाउन स्वतन्त्र उम्मेदवारको विकल्प आवश्यक रहेको बताउँदै आएका छन्।
आगामी निर्वाचन नजिकिँदै गर्दा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ मा चुनावी सरगर्मी बढ्दो छ। यस्तो अवस्थामा मतदाताहरूलाई भँगेरा चुनाव चिन्हमा मतदान गरेर आशा तामाङलाई जिताउन अपिल गर्दै स्वतन्त्र, सक्षम र उत्तरदायी प्रतिनिधित्वका लागि साथ दिन आग्रह गरिएको छ।





















