काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा आइतबारबाट देशव्यापी विरोधका कार्यक्रम घोषणा गरेको छ ।
उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा शनिबार बिहान ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालयको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखक पक्राउको निन्दा र भर्त्सना गर्दै उक्त घटनालाई लोकतान्त्रिक मूल्य र कानुनी शासन विपरित भएको ठहरसहित दुवैको निशर्त रिहा गर्न माग गरेको छ ।
बैठकका निर्णय सुनाउँदै एमाले महासचिव शंकर पोखरेलले भने, ‘हाम्रो पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भर्तसना र विरोध गर्दछ ।’
नेकपा एमालेले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति एमालेको असहमति र विरोध रहेको भन्दै आयोगको प्रतिवेदन न्यायिक सिद्धान्त विपरीत रहेको पनि जनाएको छ ।



















