काठमाडौं –
नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट दुई महामन्त्री पदमा थापा ३०२३ र शर्मा १९८४ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
महामन्त्रीका प्रतिस्पर्धीहरु डा. प्रकाशशरण महतले १५५०, प्रदीप पौडेलले १४०९, डा. मिनेन्द्र रिजालले ८०९ र डा. राजाराम कार्कीले १०७ मत पाउनुभयो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सानेपास्थित पार्टी मुख्यालयमा भएको मतगणनाको अन्तिम मतपरिणाम घोषणा गर्न बाँकी छ ।
थापा डा. शेखर कोइराला प्यानल र शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा लड्नुभएको थियो ।
महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल तथा डा. शेखर कोइराला समूहबाट गगन थापा र डा. मिनेन्द्र रिजाल प्रतिस्पर्धामा हुनुहुन्थ्यो । प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की पनि महामन्त्रीमा प्रतिस्पर्धी हुनुहुन्थ्यो ।
सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।
यस्तै नेपाली काँग्रेसको महामन्त्री पदको मतगणना जारी रहँदा पार्टी कार्यालय सानेपामा कार्यकर्ताको चर्को भीड लागेको छ । उनीहरुले गगन र विश्वप्रकाश शर्माको पक्षमा नारा लगाउँदै युवालाई अघि सार्नुपर्नेमा जोड दिएका छन् ।
कार्यकर्ताले गगन थापाको पक्षमा नारा घन्काउँदै ‘काँग्रेसभित्र क्रा न्ति दुई तिहाइको महामन्त्री, गगन दाइ हाइ हाइ’ नारा लगाइरहेका छन् ।
यस्तै काँग्रेस महामन्त्रीको जारी मतगणनामा जित नजिक पुगेसँगै विश्वप्रकाश शर्मा सानेपा पुगेका छन् । काँग्रेस प्रवक्ता समेत रहेका उनी प्रकाशमान सिंहको प्यानलबाट चुनाव लडेका थिए ।
उनी चुनावको अन्तिम नतिजा नआउँदै अविर दलिएको अवस्थामा विजय मुद्रामा सानेपामा पुगेका हुन् । सानेपा परिसरमा सञ्चारकर्मीलाई छोटो कुराकानी गर्दै उनले आफूले सबै कुरा सुन्दरीजलमा गएर राख्ने बताए ।
शर्माले कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो जित सिंगै कांग्रेस रूपान्तरण अभियानको प्रारम्भ भएको बताए ।
उनले भने, ‘यो व्यक्तिको विजय होइन, गुटको विजय होइन । यो सिंगै नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने प्रारम्भ हो ।’ त्यस्तै उनले बाँकी कुरा सुन्दरीजलबाट सुनाउने बताए ।
उनले अगाडि भने, ‘मैले बोल्नुपर्ने धेरै छ । सुन्दरीजलस्थि बीपी संग्रहालयबाटै विस्तृत कुरा गर्नेछु ।’ उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा पनि सुन्दरीजलबाटै गरेका थिए ।
सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।
तर काँग्रेस महामन्त्रीमा विजयी भएका गगन थापा बिहीबार पार्टी कार्यालय सानेपामा नजाने भएका छन् । अर्का नेता विश्वप्रकाश शर्मा जित नजिक पुगेसँगै सानेपा गएपनि गगन भने सानेपा नजाने भएका हुन् ।
गगन सानेपामा नगएर राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा दिउँसो ४ बजे पुग्नेछन् । त्यहाँ बधाई कार्यक्रम हुने बताइएको छ ।
यस्तै रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।
रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । बिहिबार महामन्त्रिको मतगणनामा रिजाल पराजित भएको हो ।






















