नेपाली काङ्ग्रेस रामेछापद्वारा कुमारी हायु समानुपातिक सांसदमा सिफारिस !

काठमाडौं – फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि नेपाली काङ्ग्रेस रामेछापले कुमारी हायुलाई समानुपातिक सांसदका लागि सिफारिस गरेको छ ।

लोपोन्मुख जातिमा सूचीकृत हायु समुदायबाट पहिलो पटक संघीय संसद्को लागि सिफारिस भएको यो उम्मेदवारीलाई ऐतिहासिक मानिएको छ। हायु समुदायबाट नेपालभर एउटामात्र समानुपातिक उम्मेदवारी आफ्नो भएको कुमारी हायुले बताएकी छन्।

नेपाल लोकतन्त्रवादी हायू सङ्घकी केन्द्रीय अध्यक्षसमेत रहेकी हायु २०६३ सालदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएकी छन् । गौरीशंकर बृहत् शिक्षा क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी सङ्घमार्फत विद्यार्थी राजनीतिमा उदय भएसँगै उनले निरन्तर राजनीतिक यात्रा अगाडि बढाएको बताइन्छ । राज्यका माथिल्ला निकायमा लोपोन्मुख जातिका प्रतिनिधिलाई अवसर नदिइएको उल्लेख गर्दै हायु भन्छिन्, “नेतृत्वको जिम्मेवारी पाएमा म जस्तोसुकै दायित्व सम्हाल्न सक्षम छु।”

कुमारी हायुको राजनीतिक तथा सामाजिक यात्रा विद्यार्थी जीवनदेखि नै सक्रिय देखिन्छ । उनले नेपाल विद्यार्थी सङ्घ रामेछापको कोषाध्यक्षका रूपमा जिम्मेवारी निर्वाह गरेकी छन् भने पछिल्लो एक दशकदेखि नेपाली काङ्ग्रेसको सक्रिय सदस्य रहँदै संगठन विस्तारमा जुटिरहेकी छन् । पार्टीका विभिन्न आन्दोलन, विरोध सभा तथा अभियानमा उनको उल्लेख्य सहभागिता रहँदै आएको छ ।

त्यसैगरी, उनले नेपाल हायू महिला समाजको केन्द्रीय अध्यक्षको हैसियतमा समुदाय हितका कार्यहरू गर्दै आएकी छन्। हायू एकता समाजको केन्द्रीय सदस्य, जी.पी. कोइराला फाउण्डेशन रामेछापको जिल्ला कार्यसमितिमा कोषाध्यक्ष तथा सचिवका रूपमा रही पार्टी संगठन सुदृढीकरणमा योगदान पुर्‍याएको उनको अनुभव छ ।

एम्नेष्टी इन्टरनेशनलमार्फत विगत १० वर्षदेखि पीडित बालबालिका र मानव अधिकारका क्षेत्रमा काम गर्दै आएकी हायु विभिन्न संघ–संस्थामार्फत महिला, दलित, बालबालिका, आदिवासी जनजाति तथा उत्पीडित वर्गको हकहितका लागि पनि सक्रिय रहँदै आएकी छन्।

आफ्नो उम्मेदवारीले लोपोन्मुख जातिको प्रतिनिधित्वलाई राष्ट्रिय तहमा स्थापित गर्ने विश्वास व्यक्त गर्दै कुमारी हायुले आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसले आफूलाई संसद्मा पुर्‍याएर नयाँ इतिहास रच्नेमा ढुक्क रहेको बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...