जेन्जी पुस्ताका आवाज, माग र मुद्दा स्थापित गर्न मेरो उम्मेदवारी : मधु आचार्य

काभ्रे – जेन्जी पुस्ताका आवाज, माग र मुद्दालाई नेपाली कांग्रेसको नेतृत्वमा स्थापित गर्ने उद्देश्यसहित मधुप्रसाद आचार्य प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका आचार्य पुस्तान्तरण, वैचारिक स्पष्टता र सांगठनिक सुधारमार्फत पार्टी रूपान्तरणको पक्षमा निरन्तर आवाज उठाउँदै आएका नेता हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका आचार्य २०८२ साल फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर २ काभ्रेपलाञ्चोकबाट जनतासामु जाने तयारीमा छन् । पार्टीभित्र पुरातन सोच र कार्यशैली परिवर्तन गर्न उनले लामो समय संघर्ष गरेको र त्यसको सकारात्मक प्रभाव पार्टीमा देखिन थालेको उनको भनाइ छ ।

भदौ २३ र २४ गते आयोजित विभिन्न कार्यक्रम तथा भेटघाटमा उनले जेन्जी युवाहरूको भावना र प्राथमिकतालाई पार्टीभित्र र बाहिर सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे। युवाहरूले चाहेको सुशासन, दिगो विकास, भ्रष्टाचारमुक्त समाज र पारदर्शी शासन प्रणाली निर्माण आफ्नो मुख्य एजेन्डा रहेको उनले स्पष्ट पारे ।

अनावश्यक दलीयकरणको अन्त्य गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्ने नयाँ राजनीतिक संस्कृतिको आवश्यकता औंल्याउँदै आचार्यले राजनीति जनसेवाको माध्यम बन्नुपर्नेमा जोड दिए। दलहरूभित्र विद्यमान पुरानै सोच र शैली परिवर्तन नगरी मुलुकको रूपान्तरण सम्भव नरहेको उनको धारणा छ ।

काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ को समग्र विकास, सुशासन र परिवर्तन सबैको साझा अभियान भएको उल्लेख गर्दै उनले यहाँका नागरिकको आवाज संसदमा प्रभावकारी रूपमा उठाउने अठोट व्यक्त गरे। क्षेत्रको भविष्य उज्यालो बनाउन निरन्तर जनतासँगै रहने उनको प्रतिबद्धता छ ।

आधुनिक कृषि प्रणालीको प्रवर्द्धन, सडक तथा पूर्वाधार विकास, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्नु आफ्नो प्राथमिकता रहेको उनले बताए । स्थानीय स्रोत र साधनको सदुपयोग गरी युवाहरूका लागि रोजगारी सिर्जना गर्दै पारदर्शी र उत्तरदायी राजनीतिक अभ्यासको सुरुवात गर्ने संकल्पसहित आफू चुनावी मैदानमा उत्रिएको आचार्यको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...