डलरको तुलनामा नेपाली मुद्रा कमजोर : डलर भाउ डेढ वर्षयताकै उच्च, हेर्नुहोस आजको भाउ कति छ ?

काठमाडौँ –

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुने क्रम पछिल्ला दिनहरूमा बढ्दो छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन हुँदै आएको हो ।

बिहीबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२२.२८ रुपैयाँ तोकेको छ । यो करिब डेढ वर्षयताकै उच्च हो ।

यसअघि २०७७ असार ९ मा यस्तो दर १२१.९४ रुपैयाँ थियो । त्यसअघि २०७७ वैशाख १० मा नेपाली मुद्राको तुलनामा डलरको भाउ हालसम्मकै उच्च १२३.२४ रुपैयाँ पुगेको थियो ।

विश्व बजारमा डलरको माग बढेसँगै त्यसको भाउ पनि बढ्न थालेको हो । गत असोज २७ मा एक अमेरिकी डलरको विनिमय दर १२१.१२ रुपैयाँ थियो ।

त्यसपछि डलरको भाउ केही घटेको थियो । गत कात्तिक २५ मा यो दर ११८.७३ रुपैयाँ कायम भएको थियो । त्यसयता डलरको भाउ लगातार उकालो लागिरहेको छ ।

पछिल्ला ४ वर्षमा अमेरिकी डलर भाउ करिब १९ रुपैयाँ बढेको छ । डिसेम्बर २०१७ मा एक अमेरिकी डलरको भाउ १०२ रुपैयाँ मात्रै थियो ।

नेपालमा विश्व बजारका कारणले भन्दा पनि भारतीय मुद्रा कमजोर भएकाले नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो ।

नेरु र भारुबीच स्थिर विनिमय दर छ । यससँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले पनि भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले भएको यही हो ।

चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांक हेर्दा नेपालको कुल वैदेशिक व्यापारको करिब ५८.२ प्रतिशत हिस्सा भारत केन्द्रित छ ।

विगतका वर्षमा कुल व्यापारमा यस्तो हिस्सा ६५ प्रतिशतसम्म पनि पुगेको थियो । बुधबार साँझका लागि एक अमेरिकी डलरको विनिमय दर ७६.३० भारु छ । गत शनिबार यस्तो दर ७५.७२ भारु थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...