काठमाडौं –
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उपसभापति पदको अन्तिम मत परिणाम घोषणा गरिएको छ ।
उपसभापति पदको मत परिणामप्रति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजय गच्छदारले असहमति जनाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार राति सम्पन्न मतगणनाको परिणाम निर्वाचन समितिले घोषणा गरेको हो । घोषित परिणाम अनुसार उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन्।
गच्छदार पुनः मतगणना हुनुपर्ने मागसहितको निवेदन लिएर काँग्रेस केन्द्रीय कार्यालयमा आउने भएपछि अहिले मत परिणाम घोषणाको कार्यक्रम रोकिएको छ ।
यसअघि निर्वाचन समितिले देउवा पक्षका पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षका धनराज गुरुङले उपसभापति पदमा विजयी हासिल गरेको कुरा अनौपचारिक रुपमा जानकारी दिएपनि औपचारिक रुपमा घोषणा गरिसकेको थिएन ।
शेखर कोइराला प्यानलका धनराज गुरुङ १९०८ मत ल्याएर विजयी भएका छन् । गच्छदारले भने १९०६ मत प्राप्त गरेका छन् । २ मत अन्तरले पराजित भएका गच्छदारले पुनः मतगणनाको माग गरेका हुन् ।
यसअघि धनराजले पनि सय मत पुनः गणना गराएका थिए । बुधबार उपसभापति पदको मतगणना काँग्रेस केन्द्रीय कार्यालयमा सानेपामा गरिएको थियो ।
यस्तै नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनसम्ममा पार्टीलाई एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्र तहसम्म बहुमतको सरकार निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन्।
सभापतिमा निर्वाचित भएपछि ‘बधाई तथा शुभकामना’ दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका महाधिवेशन प्रतिनिधि तथा कार्यकर्तासँगको कुराकानीमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कांग्रेसलाई एकढिक्का र बलियो बनाउन प्रत्येक कार्यकर्ताको योगदान महत्त्वपूर्ण हुने बताए।
प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिन आउने महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताको जिज्ञासा धैर्यसाथ सुन्नका साथै कांग्रेस पार्टीलाई वडा, पालिका, क्षेत्र र प्रदेश तहदेखि केन्द्रसम्म बलियो बनाउन सबैले त्याग र संघर्ष गर्नुपर्ने बताए।






















