काठमाडौं –
नेपाली काँग्रेस सभापतिको चुनाव रोचक मोडमा पुगेको छ । कांग्रेस सभापतिको चयनका लागि पुनः मतदान हुने भएको छ ।
पहिलो चरणको चुनावमा पाँच उम्मेदवार शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ कसैको पक्षमा पनि बहुमत अर्थात ५० प्रतिशत बढी मत आउन नसकेपछि चुनाव दोस्रो चरणमा गएको हो ।
महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात् २३४० मत आवश्यक थियो । तर, सभापतिका प्रत्याशी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् ।
पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २०मत प्राप्त गरेका छन् । अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।
निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ ।
अब सर्वाधिक मत ल्याउने दुई उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ भने अरु तीन उम्मेदवार चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
काँग्रेस निर्वाचन समितिले केहीबेरमै दोस्रो चरणको निर्वाचन सुरु गर्ने तयारी गरेको छ ।
दोस्रो चरणको चुनावमा प्रकाशमान र निधिले जसलाई समर्थन गर्छन् उसैको पल्लाभारी हुने देखिन्छ । देउवालाई निधि वा प्रकाशमान कुनै एक उम्मेदवारले सहयोग गरेको खण्डमा पनि जितको लागि सहज हुनसक्छ भने कोइरालालाई दुबै उम्मेदवारले सघाएर आफ्नो पक्षमा मत पार्नुपर्ने हुन्छ ।
यसैबीच चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका नेताहरुलाई आफ्नो पक्षमा पार्न देउवा र शेखरले छलफललाई तीव्रता दिएका छन् ।
यस्तै नेपाली काँग्रेसको सभापति पदका लागि भएको चुनावमा पहिलो चरणबाट नतिजा नआउने संकेत पाएपछि गृहमन्त्री बालकृष्ण खाण शेरबहादुर देउवाको पक्षमा प्रकाशमानलाई फकाउन चाक्सीबारीस्थित सिंह निवासमा पुगेका छन् ।
पहिलो चरणको चुनावमा सिंहले तेस्रो स्थानको मत हासिल गरेका छन् । सिंहले सघाउँदा दोस्रो चरणमा देउवाले जित्ने निश्चित देखेपछि खाण सिंहलाई भेट्न पुगेका हुन् ।
यद्यपि, मतगणना सकिएको छैन । र देउवाले पहिलो चरणमा नै जित्ने सम्भावना भने बाँकी नै छ ।
यो पनि : नेपाली काँग्रेसको सभापति चयनका लागि सोमबार भएको मतदानमा ७७ मत बदर भएको छ । निर्वाचन समितिका अनुसार जम्मा ४ हजार ६८१ मत खसेकामा ७७ मत बदर भएको हो ।
जसमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२५८ मत ल्याए भने शेखर कोइरालाले १७२७, विमलेन्द्र निधिले २४, प्रकाशमान सिंहले ३७१ र कल्याण गुरुङले २० मत प्राप्त गरे ।
कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि काँग्रेस सभापतिका लागि सर्वाधिक मत ल्याए दुई उम्मेदवार देउवा र कोइरालाबीच फेरि प्रतिस्पर्धा हुनेछ । निर्वाच्न आजै हुने निर्वाचन समितिले बताएको छ।
यो पनि : नेपाली काँग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले दोस्रो चरणको चुनावमा आफूले प्रकाशमान सिंहसँग सल्लाह गर्ने बताएका छन् ।
पहिलो चरणको चुनावमा देउवाले ५० प्रतिशत मत प्राप्त नगरेको अवस्थामा प्रकाशमान र विमलेन्द्रको मत निर्णायक हुनेछ । त्यो अवस्थामा देउवालाई सघाउने कि शेखरलाई सघाउने भन्नेबारे निधिले सिंहसँग सल्लाह गर्ने बताए ।
‘प्रकाशमानजीसँग सल्लाह गर्छु,’ निधिले भने, ‘प्रकाशमानजीसँग सल्लाह भएर नै केही गर्छौं ।’ यसअघि विमलेन्द्र निधिले दोस्रो चरणमा शेरबहादुरलाई नसघाउने बताएका थिए ।






















