विवादित ‘आदिपुरुष’ धरानमा प्रदर्शन नगर्न मेयर हर्क साम्पाङको आग्रह !

काठमाडौं – विवादित बनिरहेको भारतीय चलचित्र आदिपुरुषलाई  सुनसरीको धरान उपमहानगरपालिका भित्र प्रदर्शन नगर्न मेयर हर्क साम्पाङले आग्रह गरेका छन् ।

उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन् ‘धरानमा आदिपुरुष प्रदर्शन नगर्नुहोला ।’

आदिपुरुषमा सितालाई ‘भारतकी बेटी’ भन्ने शब्द नहटाएसम्म नेपालमा हिन्दी चलचित्र रोक्ने भन्दै काठमाडौं महानगरपालिका भित्र अन्य हिन्दी चलचित्र प्रदर्शनमा समेत रोक लगाइएको छ ।

यस्तै पोखरा महानगरपालिकामा पनि हिन्दी चलचित्र रोक लागेको छ । धरानमा भने आदिपुरुष मात्रै प्रदर्शन नगर्न मेयर राईले आग्रह गरेका छन् ।

यस्तै ‘आदिपुरुष’ फिल्मको नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि देशव्यापी प्रदर्शन रोक्ने निर्णय गरेको छ । कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको बताए । ‘निर्णयपछि सबैतिर फिल्मको प्रदर्शन रोकिएको छ,’ उनले भने ।

काठमाडौं महानगरपालिकाको आधिकारिक पत्रबिनै हल व्यवसायीले फिल्मको प्रदर्शन रोकेकोप्रति आपत्ति जनाउँदै राठीले फिल्म उतार्ने निर्णय भएको बताए । ‘हल व्यवसायीले नै आधिकारिक पत्र बिना, फेसबुकमा स्टाटस लेखेको भरमा फिल्म रोक्नुहुन्छ भने हामीले अन्त चलाइरहनु जरुरी छैन,’ उनले भने, ‘हामी कानुनी उपचारमा पनि जाँदैनौं ।’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनपछि हल व्यवसायीले सोमबारदेखि काठमाडौं महानगरका १७ वटै हल बन्द गराएका छन् ।

चलचित्र संघ र हल व्यवसायीले आधिकारिक निर्णयबिना फिल्म रोक्ने कार्य गरेकोप्रति राठीको असन्तुष्टि छ । साथै, समस्या समाधानका लागि मेयर बालेनले पनि तदारुकता नदेखाएकोप्रति वितरकको गुनासो छ । मेयर बालेनको निर्देशनमा नगर प्रहरी आइतबार बेलुका हलहलमा पुगेर फिल्म नचलाउन मौखिक निर्देशन दिएका थिए ।

जानकी भारतकी छोरी भएको भन्ने संवादमा आपत्ति जनाउँदै मेयर बालेनले फेसबुकमार्फत यसलाई भारतमा सच्याउन तीन दिनको समय दिएका थिए । तर नसच्याइएको भन्दै सोमबारदेखि भारतीय फिल्मलाई निषेध गर्ने निर्णय उनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...