चोलेन्द्र शमशेरकी छोरी भनेर हिजो मिडियामा छाएकी युवती को हुन् ?

काठमाडौं – बालुवाटारस्थित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सरकारी निवासबाहिर आइतबार एक युवतीले मिडियालाई लामो अन्तर्वार्ता दिइन् । आफू निलम्बित प्रधानन्यायाधीश राणाकी छोरी सुनिधि राणा भएको बताउँदै उनले सरकारको व्यवहारको कडा शब्दमा भर्त्सना गरेकी थिइन् ।

सरकारले राणा परिवारमाथि अन्यायमाथि अत्याचार गरेको, भित्रबाट बाहिर निस्कन नदिए गुनासो गर्दै न्यायालय जोगाउन जनता घरबाट निस्कन अपिलसमेत गर्न भ्याइन् । आत्मविश्वासका साथ सरकार र वरिष्ठ अधिवक्ताहरूविरुद्ध खनिएकी ती युवती राणाकी आफ्नै छोरी भने नभएको खुलेको छ ।

पारिवारिक स्रोतका अनुसार, राणाकी सुनिधि नामकी कुनै छोरी छैनन् । उनका दुई श्रीमतीमध्ये जेठी उमा हमालतर्फबाट छोरी श्रृष्टि र छोरा सचिन्द्र शमशेर छन् । स्टोभ पड्किएर उमाको मृत्युपछि राणाले दोस्रो बिहे गरेका थिए । दोस्रो श्रीमतीतर्फबाट छोरी समृद्धि मात्र छिन् । ‘भतिजी वा धर्मपुत्री भए थाहा भएन । अन्तर्वार्तामा देखिएकी युवती चोलेन्द्र शमशेरकी साख्खै छोरी भने हैनन्’, एक आफन्तले भने ।

राणानिवासबाट निस्किँदै गर्दा अन्तर्वार्ता दिएकी युवती हुन्– दैलेखकी मीना जैसी । उनको घर दैलेखको साविक चामुण्डा गाविस हालको चामुण्डा(बिन्द्रासैन नगरपालिका हो । स्थानीय देवीराम जैसीका दुई छोरीमध्ये उनी जेठी हुन् ।

आइतबार एकाएक राणाकी छोरीका रूपमा सञ्चारमाध्यममा छाएपछि दैलेखका छिमेकी र साथीसंगी अचम्ममा परे । राणा परिवारसँग उनको वास्तविक साइनो के हो खुलेको थिएन । सञ्चारमाध्यममा उनको अन्तर्वार्ता आएपछि चोलेन्द्रपुत्रीका रूपमा उनी एकाएक चर्चामा आइन् ।

केही टेलिभिजन र न्यूज एजेन्सी नेपालले उनको अन्तर्वार्ता लिएका थिए । न्यूज एजेन्सीको भिडियो सामग्री व्यापक प्रयोग भएपछि सो अन्तर्वार्ता एकाएक भाइरल भएको थियो । पत्रकारले नाम सोध्दा ती युवतीले केही अड्किएर सुनिधि राणा भनेकी छिन् । उनीसँगै रहेकी अर्की युवती भने चाेलेन्द्रशमशेर राणाकी जेठी श्रीमती उमातर्फकी छाेरी श्रृष्टी हुन्। ‘नजरबन्द’मा परेको भनेका प्रधानन्यायाधीशकी छोरीको परिचय दिएपछि आफूहरूले महत्त्व दिएको न्यूज एजेन्सीका प्रबन्ध निर्देशक सविन धमलाले बताए ।

चाेलेन्द्र- सुनिधि नाता

सुनिधिले आफू नाताले चोलेन्द्रशमशेरकी नातिनीबुहारी भए पनि बोलीचालीमा ‘बुवा’ भन्ने गरेको बताइन् । उनका अनुसार, उनी चाेलेन्द्रका दाइ शान्तिशमशेरकी नातिनी बुहारी हुन् । शान्तिशमशेरका नाति वरदानशमशेर राणाकी श्रीमती भएकाे उनले बताइन् । त्यस नाताले आफूले छोरी भनेर मिडियालाई अन्तर्वार्ता दिएको उनको दाबी छ । ‘विवाहपछि श्रीमान्‌ले दिएको नाम हो सुनिधि । एउटा नाताले म बुहारी नातिनी हो, अर्को नाताले छोरी हुँ,’ उनले भनिन् ।  शिलापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...