काठमाडौं – महाबदमासी गरेर पार्टी निकट भएर काम गर्ने गभर्नर महाप्रसाद अधिकारी पद जाने भएको छ,। प्रधानमन्त्री शेर बहादुर देउवा नै एक्सनमा उत्रिएपछि उनको जागिर जाने भएको हो ।
नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सत्तारुढ दलका नेताहरुसँग देउवाले यस्तो बताएका हुन्।
आज बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा गभर्नरबारे प्रश्न उठेपछि प्रधानमन्त्री देउवाले राजीनामा दिनुपर्ने बताएका हुन्। देउवाले गभर्नर अधिकारीसँग अरु कुनै विकल्प नै नभएको पनि बताए।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अर्थ तथा योजना विभागमा खोटाङका एम अधिकारीको नाम उल्लेख भएपछि उक्त नाम गभर्नर अधिकारीकै भएको भन्दै व्यापक आलोचना भएको थियो। सामाजिक सञ्जालमा पनि अधिकारीको राजीनामा माग्दै आलोचना भइरहेको छ।
सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका नेताहरुले उक्त विषयलाई उठाएपछि प्रधानमन्त्री देउवाले गभर्नरले राजीनामा दिनुपर्ने बताएका हुन्। नैतिक रुपमा राजीनामा दिनुपर्ने बताउँदै बैठकमा देउवाले भनेका थिए, ‘राजीनामा दिनु बाहेक के विकल्प हुन्छ र ?’
यस्तै यता नेपाल सरकारका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माईतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ। शुक्रबार बिहान ११ बजे नेविसंघले माईतीघर पुगेर गभर्नरविरुद्ध प्रदर्शन गरेको हो।
राष्ट्र बैंकका गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा सुरु भएपछि उनको सर्वत्र आलोचनासमेत भइरहेको छ। यहीबीच आन्दोलन गर्दै नेविसंघले उनको राजीनामा माग गरेको हो।
नेविसंघका नेता मदन उपाध्यायले राष्ट्र बैंकका गभर्नर जस्तो व्यक्ति कुनै पार्टीको कार्यकर्ता हुनु राष्ट्रकै लज्जाको विषय भएको बताए। ’राष्ट्र बैंकका गभर्नर कुनै पार्टीको कार्यकर्ता हुन पाउँदैनन्। नेपालको अर्थतन्त्रलाई रेगुलेसन गर्ने संस्थाको प्रमुख पार्टीको झोले भएर हिँड्नु निन्दाजनक हुन्छ,’ उपाध्यायले भने।
उनले गभर्नर अधिकारीको राजीनामा नआए आन्दोलनलाई थप शसक्त बनाइने चेतावनी दिएका छन्। आन्दोलनमा नेविसंघ एनसीसी कलेजका नेता अन्सुल केसी, टियुका नेता विष्णु बडैला, श्याम पाण्डे, राज ठकुराठी, टिकेष भट्ट, सदिक्षा आचार्यलगायत नेताहरू रहेका छन्। उनीहरूले एक घण्टा धर्ना दिने जनाएका छन्।






















