जेल बाहिर बसेर सन्दीप लामिछानेलाई मुद्दा लड्न अदालतले दियो अनुमति !

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेलाई जेल बाहिरै बसेरमुद्दा लड्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

आज जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग गर्दै पुनरावेदनका लागि पुगेका उनालाई अदालतले बाहिरै बसेर मुद्दा लड्न लिखित अनुमति दिएको हो ।

उनी जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन लिएर उच्च अदालत पाटन पुगेका हुन् । गत महिना कामाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो ।

परिवर्तित नाम गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन गर्न लागेका हुन् ।

बलात्कार मुद्दामा दोषी ठहर भएसँगै उनले क्रिकेटबाट अलग हुने स्वघोषणा गरेका थिए । यसैबीच उच्च अदालत पाटनमा उनले दिएको पुनरावेदनको निवेदन दर्ता भएको छ । निवेदन दर्तापछि सन्दीपलाई चैत १२ गते पहिलो तारेखका लागि बोलाइएको छ ।

सन्दीपलाई काठमाडौं जिल्ला अदालतले तोकेको ८ वर्ष कैद सजायमध्ये ३ महिना ८ दिन उनी यसअघि मुद्दाको पुर्पक्षका लागि नै जेलमा बसिसकेका छन् ।

अब उनले कैदमा बस्नुपर्ने ७ वर्ष ८ महिना २२ दिनको दैनिक ३०० रुपैयाँका दरले हुन आउने रकम ८ लाख ४५ हजार १०० रुपैयाँ, जिल्ला अदालतले तोकेको ३ लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा बुझाउनुपर्ने १२ हजार रुपैयाँ र पीडितलाई भराइदिनुपर्ने राहत २ लाख रुपैयाँ गरी १३ लाख ५७ हजार १०० रुपैयाँ अदालतलाई बुझाउनुपर्ने थियो ।

सन्दीपले यसअघि नै काठमाडौं जिल्ला अदालतमा धरौटीबापत २० लाख रुपैयाँ बुझाइसकेकाले अदालतले अहिले उनीसँग थप रकम लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...