काठमाण्डौं – १६ औं संस्करणको एशिया कप २०२३ आज (बुधबार) बाट हाब्रिड मोडलमा पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा शुरु हुँदैछ । एशिया कपको यो संस्करण अघिल्ला भन्दा भिन्न र रोचक हुने अपेक्षा छ ।
किनकी विश्व क्रिकेटमा विकासको गतितर्फत लम्किदै गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले यसै संस्करणबाट लामो समयको प्रतिक्षालाई चिर्दै एशिया कपमा डेब्यु गर्दैछ । पहिलो पटक एशिया कप खेल्ने तयारीमा रहेको नेपाली टोली अहिले पाकिस्तानमा छन् ।
नेपाल गत बैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै २१ वर्षपछि एशिया कपका लागि छनौट भएको थियो। यसअघि सन् २००२ मा नेपालले पहिलो पटक एशिया कपमा स्थान बनाएपनि पनि भारत र पाकिस्तानकोबीच कार्गिल युद्धका कारण प्रतियोगिता खेल्न पाएको थिएन।
एशया कपको पहिलो सहभागितामै नेपालले विश्व क्रिकेटकै महारथी देश भारत र पाकिस्तानसँग खेल्ने मौका पाएको छ । यसलाई नेपाली टोलीले अवसर र चुनौती दुवैको रुपमा लिएको छ। नेपालले प्रतियोगिताको पहिलो दिन आज नै घरेलु टोली पाकिस्तानविरुद्ध खेल्दै एशिया कपमा डेब्यु गर्दैछ ।
मुल्तानमा हुने नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल नेपाली समयानुसार दिउँसो ३:१५ बजेबाट शुरु हुनेछ । पाकिस्तानसँग खेल्नको लागि वर्षौंदेखि साँचेको सपना पुरा गर्न मुल्तान मैदानमा उत्रिदै गर्दा नेपाली टोली आज जितका लागि भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा रहने छ ।
विश्व क्रिकेटको एक महाहस्ती पाकिस्तानविरुद्धको खेल नेपाली टोलीको लागि सहज पक्कै छैन र पनि, क्रिकेट अनिश्चितताको खेल भएकोले नजिता नेपाली टोलीको पक्षमा नआउला भन्न सकिदैछ । यता घरेलु टोली पाकिस्तान पनि प्रतियोगितामा सुखद् शुरुवात गर्ने योजनासहित नेपालविरुद्ध मैदानमा उत्रिने तयारीमा छ ।
भदौ ३१ गते आईतबारसम्म चल्ने प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेल नेपालले भदौ १८ मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्ने छ। एशिया कपमा नेपालसङ्गै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानगरि कुल ६ राष्ट्रले भाग लिदैछ।
सहभागि राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताका कुल १३ मध्ये ४ खेल पाकिस्तान र ९ खेल श्रीलंकामा हुने छन् । श्रीलंका गत संस्करणको च्याम्पियन टोली समेत हो। समुह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने दुई टोली सुपर ४ मा प्रवेश गर्नेछन् । सुपर ४ मा चारवटै टोलीको भिडन्त हुने छ । यसपछि शिर्ष दुई स्थान हासिल गर्ने टोली फाइनलमा प्रवेश गर्नेछन् ।
पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ ११ :
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान(विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।
आजबाट सुरु हुने एशिया कपको लाइभ अपडेट नेपाली पात्रोमा हेर्न मिल्ने भएको छ । नेपालले पहिलोपटक एशिया कप खेल्न लागेको हो । पहिलो खेलमा नै नेपालले बलियो टिम पाकिस्तानको सामना गर्दैछ ।
मुल्तान क्रिकेट रंगशालामा दिउँसो ३:१५ बाट सुरू हुनेछ । यो खेल तथा एसिया कपको सम्पूर्ण खेलको लाइभ अपडेट नेपाली पात्रोमा हेर्न सकिने जनाइएको छ ।
























