काठमाडौं –
चार देशीय टी-२० सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो ।
दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित ७३ रन बनाएपछि १३६ रनको लक्ष्य नेपालले ३ बल अगावै पूरा गरेको हो ।
त्यस्तै आरिफ शेखले २० बलमा २५ , ओपनर आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदीप ऐरीले ४ र शरद भेषावकरले अविजित ४ रन बनाए । ओमानका लागि कल्लीमुहाले २ र खावर अलीले १ विकेट लिए ।
टस हारेर ब्याटिङ गरेको ओमानले १३५ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुदले अविजित ४३ रन बनाए । मोहम्मद नदिमले ३१ रन बनाए । त्यस्तै, कश्यप प्रजपति ११, जतिन्दर सिंह १३, शोइब खान ११, आयन खान ११ र कुर्राम नवाजले ६ रन बनाए ।
आइसिसी पुरुष टी-२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेलेको हो। सिरिजमा आयोजक ओमानसहित, नेपाल, आयरल्यान्ड र युएई सहभागी छन्।
























